काठमाडौं,
वैशाख २५ ।
शुक्रबार थप आठ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ३१५ जनाको पिसिआर परीक्षणमा आठ हजार २८७ जनामा पोजिटिभ र ९८९ जनाको सीमा नाकामा एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन् । यस्तै शुक्रबार थप तीन हजार ३७० जना संक्रमण मुक्त भएका छन् ।
देशभर पछिल्लो समय करिब एक हजार कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत छन् । ७५८ आइसीयू र २३१ जना भेन्टिलेटरमा गरी ९८९ जना बिरामी उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार ९५९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत थिए ।
काठमाडौं उपत्यकामा शनिबार थप तीन हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका दुई हजार २७० छन् । यस्तै, ललितपुरमा ४६२ र भक्तपुर जिल्लामा ३८१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या तीन हजार ६३२ पुगेको छ ।






