कविता : म

✍️ आरती आचार्य
काठमाडौं,
वैशाख २५ ।

सगोलहरूबाट छुट्टिएको बादलको
एक थुप्रो हुँ म ।
जो तिम्रो हेराईमा एक्लो छ
मेरो हेराईमा स्वतन्त्र ।

म फूलहरुमा फुल्न वर्जित उनिउँ हुँ,
म पाइलाहरुमा पुग्न वर्जित भूगोल हुँ ।
समेट्दा समेट्दै छुटि गएको तिम्रै सङ्गीतको धुन हुँ म,
लेख्दा लेख्दै छुटिगएका तिम्रा शब्दहरूको गुनगुन हुँ म ।
म पानी हुँ डुबाउन पनि सक्छु
म हावा हुँ उडाउन पनि सक्छु ।
म नाउँ हुँ कहिलेकाहीँ उत्रिन्छु पनि
म भाव हुँ धेरै जसो डुब्छु पनि ।
म सबथोक हुँ तर तिमी होइन ।
तिमी जो हौ तर म होइनौ ।

म संवेदना बिनाको स्पर्श हुँ
म खुशी बिनाकै हर्ष हुँ ।
म तिम्रा समुपस्थितीमा मैन जस्तै जम्न सक्छु,
म तिम्रा हृदयका स्पन्दनहरूमा मैन जसरी नै पग्लन सक्छु ।
जो होस्, जे होस्,
म जीवनका कथाहरूमा नदेखिएको वाक्य हुँ
म आँखाहरूले बोल्ने कवितामा लुकेकी काव्य हुँ ।

म बिम्ब हुँ र अलङ्कार पनि
म सङ्गीत हुँ र झङ्कार पनि ।
म भविष्य हुँ, सपना हुँ र आँखा पनि
म भरोसा हुँ, सहारा हुँ र भाका पनि ।
म परीक्षामा नआउने पाठको उपेक्षित प्रश्न हुँ,
म कतै पिँधबाट चिच्याइ रहने तिरस्कृत आवाज हुँ ।

हेर न,
म सबथोक हुँ तर तिमी होइन ।
तिमी जो हौ तर म होइनौ ।
ओ अपरिचित,
तिमी जो हौ तर म होइनौ ।।

यसमा तपाइको मत

अन्य समाचार