काठमाडौं,
वैशाख २० ।
विदेशमा बसे पनि चलचित्र निर्माण र निर्देशन गर्ने नेपाली थुप्रै छन् । तीमध्येका एक हुनुहुन्छ डा. कपिल रिजाल । रिजाल पेशाले दन्त चिकित्सक हुनुहुन्छ । तर, चलचित्र निर्देशनमा पनि उहाँ सक्रिय हुनुहुन्छ । त्यो पनि अंग्रेजी चलचित्र । साँढे दुइ दशकदेखि युकेको लण्डनमा बस्दै आउँनुभएका डा. कपिल रिजालले चिकित्सा क्षेत्रबाट बचेको समयको सदुपयोग गर्दै छोटा चलचित्र तयार पारेर आफ्नो पिताको पथ पछ्याउनुभएको छ ।
ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ तथा चलचित्र निर्माता, गायक एवम् गीतकार डा. भोला रिजालका पुत्र डा. कपिल रिजालले निर्देशन गरेको छोटो चलचित्र कर्माः लाईफ इज ए बुमर्याङ, यु गेट ह्वाट यु गिभ हालै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। अंग्रेजी भाषामा तयार पारिएको चलचित्र जस्तो कर्म गर्यो, त्यस्तै फल पाइन्छ भन्ने विषयमा केन्द्रित छ । २६ वर्षदेखि लण्डनमा बसी आफूलाई सफल तथा लोकप्रिय दन्त चिकित्सकका रुपमा उभ्याउन सफल डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो चलचित्र हो ।
डा. रिजालको घरेलु चलचित्र निर्माण कम्पनी केआर प्रडक्सन, लण्डनको व्यानरमा निर्मित चलचित्रमा उहाँले लण्डनवासी नेपालीका साथमा लण्डनका कलाकारहरूलाई अभिनय गराउनुभएको छ । हलिउडका नाम चलेका प्राविधिकको समेत संलग्नता रहेको चलचित्रमा लण्डनमा बस्दै आउनुभएका नेपाली कलाकार टंक धमला (लियो टयांक) मूख्य भूमिकामा हुनुहुन्छ भने लण्डनकी डेली एलन नायिका रहनुभएको छ । उहाँहरूका साथमा सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक, र निशान पुनले पनि अभिनय गर्नुभएको छ ।
सम्पूूर्ण छायांकन कार्य लण्डनमा गरिएको चलचित्रको पोष्ट प्रोडक्सनको काम भने नेपालमा गरिएको छ । सस्पेन्स थ्रिलर चलचित्रमा कथा डा. कपिल रिजालकै छ भने पटकथा उहाँका साथमा लुक हन्टरले तयार पार्नुभएको छ । स्टोरी बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअन भ्यान टिम्परली, छायांकन फास्टस टक्ला, सम्पादन दिपेश केपी र एलेक्स टोम्ली, भिजुअल इफेक्ट प्लुटस स्टुडियोको रहेको चलचित्रमा सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहनुभएको छ । फिल्म ११ मिनेट २२ सेकेन्डको छ ।
डा. रिजालले यसअघि कोरोना संक्रमणबाट हुने कोभिड-१९ को विषयमा एकल कलाकार लिएर गिल्ट नाम छोटो चलचित्र बनाउनुभएको थिए भने २० वर्षअगाडि भारतमा अध्ययनका क्रममा रहँदा फरक फरक भाषा बोल्ने विभिन्न देशका साथीहरूका साथ साइलेन्स सट चलचित्र बनाउनुभएको थियो ।
डा. रिजालले आफ्ना पिता डा. भोला रिजालका कारण रगतमै चिकित्सा क्षेत्र र चलचित्र रहेकाले आफू पनि दुबै क्षेत्रमा सक्रिय भएको बताउनुभयो । ‘ब्लडमै डक्टरी पेशा र फिल्म छ, त्यसैले म यी दुबै क्षेत्रमा रमाईरहेको छु’ काम विशेषले हाल नेपालमा रहनुभएका डा. रिजाल भन्नुहुन्छ । डा. रिजालले नेपाल र लण्डनमा गरी हालसम्म करिब एक दर्जन म्युजिक भिडियोसमेत निर्देशन गरिसक्नुभएको छ ।






