‘जुन गीत सुनेर’ भन्दै कन्हैया सिंह (भिडियोसहित)

काठमाडौं,
वैशाख १० ।

नेपाली सांगीतिक क्षेत्रका अमर स्रष्टाहरुलाई समर्पित गर्दै संगीतकर्मी कन्हैया सिंह परियारद्वारा तयार पारिएको गीत ‘जुन गीत सुनेर’ शुक्रवार बिहान काठमाडौंमा प्रिमियर गरिएको छ । नेपाल संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् विशिष्ट संगीतकार शम्भूजीत बासकोटाको प्रमुख अतिथ्यमा हार्दिक होटल काठमाडौंमा आयोजित एक समारोहमा उक्त गीतको भिडियो प्रिमियर गरिएको हो । भिडियो प्रिमियर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै संगीतकार बासकोटाले गायक तथा संगीतकार कन्हैया सिंह परियारलाई बधाइ दिँदै अग्रजको सम्मान गर्ने व्यक्ति सांगीतिक क्षेत्रमा सधैं अमर रहने बताउनु भयो ।

टिका गोपाल डिजिटल एम क्रिएशनकी निर्देशक गीता परियारको सभापतित्वमा आयोजित भिडियो प्रिमियर समारोहमा सञ्चाकरर्मीद्वय दिनेश डिसी तथा हेम सुवेदी, निर्देशक सुमन दाहाल, कानूनविद् भीमार्जुन आचार्य, गीतकार शान्तिप्रिय, चलचित्र निर्देशक माधवराज खरेल, भिडियो निर्देशक हेमप्रभास अधिकारी लगायतका वक्ताले गीत तथा भिडियोको सफलताका कामना गर्नुभएको थियो ।
सार्वजनिक गीतका संगीतकार सन्तोष श्रेष्ठले गीतकार तथा गायक परियारले गीतका शब्दहरु उपलब्ध गराउँदा संगीत भर्न चुनौतीपूर्ण रहेको बताउनुभयो । अमर श्रष्टाहरूलाई सम्मान गर्ने गीतमा हामीले सक्दो मेहनत गरेका गरेको उहाँको भनाइ थियो।

पिम नेपाल, काठमाडौंको व्यवस्थापनमा सम्पन्न भएको उक्त समारोहमा गायक परियारले तीन वर्ष अघिदेखिको योजनालाई साकार रुप दिन पाउँदा खुशी लागेको बताउनुभयो । गायक परियारले उक्त गीत तीन वर्षअघिदेखि नै रचना गर्न थाल्नुभएको थियो जसका हालै रेकर्डिङ गरेर गीतको भिडियो तयार पारिएको हो । साढे दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार कन्हैया सिंह परियारले उक्त गीतको भिडियो रेडियो नेपालको प्रांगणमा छायांकन गराउनुभएको छ ।

गीतमा गायक परियाका स्वर तथा शब्द छ भने संगीतकार सन्तोष श्रेष्ठले यसलाई संगीत बद्ध गर्नुभएको छ । गायक सिंहले आफ्नो रचनामा नारायण गोपाल, गोपाल योञ्जन, झलकमान गन्धर्व, तारादेवी, फत्तेमान, अम्बर गुरुङ, अरुणा लामा, गणेश परियार, मोतिराम भट्ट, लालबहादुर खाति, शिव शंकर, मेलवादेवी आदि स्रष्टालाई अटाउनुभएको छ । उहाँहरुले गाउनु भएका, संगीतबद्ध गर्नु भएका, रचना गर्नु भएका गीतहरु जति सुने पनि पुग्दैन, उहाँहरूका गीत सम्पूर्ण नेपालीहरूले सुन्नु भएको छ, हामी सबै उहाँहरूकै गीत सुनेर हुर्किएका हौं, तीनै महान् संगीतकर्मीहरुलाई सांगीतिक रुपले सम्झना गर्न यो गीत तयार पारेको हुँ, गायक सिंहको भनाइ छ ।

उक्त गीतलाई अमुल कार्की ढलीले संगीत संयोजन गर्नुभएको छ । अकोस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई राजाबाबु थारुले रेकर्ड गर्नुभएको हो । गीतलाई प्रकाश मिश्रले मिक्सिङ गर्नुभएको छ । यो गीतमा शुभबहादुर सुनामले सेक्सोफोन बजाउनुभएको छ भने मोहनकृष्ण कार्की ढली, नारायणदास कार्की ढली, केशव सुनाम, रविन कार्की ढली, किशोर कार्की ढली र विमल कार्की ढलीले भ्वाइलिनवादन गर्नुभएको छ । त्यस्तै गीतमा ढोलक, तबला, मादल तथा कंगोमा कुमार महाराज तथा भुवन गन्धर्व हुनुहुन्छ भने रिदम गिटारमा सचिन सिंह, बास गिटारमा अनुप दास, बाँसुरी वादनमा गोपाल देव तथा चेलोमा निषाद श्रेष्ठलाई सुन्न सकिन्छ ।

टिका गोपाल डिजिटल एम क्रिएसनले उक्त गीतको अडियो तथा भिडियो उत्पादन गरेको छ । उक्त गीतको भिडियोमा गायक कन्हैया सिंह, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकर्मी अमूल कार्कीका साथेमा प्रकाश मिश्र, एलेस्का, हेमा, अञ्जु आदिले अभिनय गरेका छन् । हेमप्रभास अधिकारीद्वारा निर्देशित उक्त गीतको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् । उक्त भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

उक्त गीतको भिडियोमा गीतमा समावेश संगीतकर्मीहरुका स्केचलाई चित्रण गरिएको छ । उक्त भिडियोका प्रारम्भमा सञ्चारकर्मी दिनेश डिसीले गीतका बारेमा भ्वाइस ओभरमार्फत रोचक जानकारी दिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार