नयाँ वर्षका अपेक्षा

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
वैशाख २ ।

नयाँ बर्ष सुरु भएको छ । २०७७ साल आम नेपालीले सोचे अनुरुप हुन सकेन । गत साल राजनीतिक अस्थिरता, कोरोना संक्रमण र आर्थिक सङ्कटका कारण मुलुक सहज रुपमा अघि बढ्न सकेन । यही अवस्थाबाट गुज्रदै आजैबाट नयाँ वर्ष सुरुवात भएको छ । हामी सबै नेपाली जनताले आशा गरौं, विगत वर्ष जस्तो हरेक हिसाबले यो नयाँ वर्ष खेप्न नपरोस् ।

मुलुकले खेपिरहेको संक्रमणलाई नयाँ वर्षले सजिलै पार गरोस् । मुलुक राजनीतिक, आर्थीक, सामाजिक सबै क्षेत्रबाट अघि बढोस् भन्ने मेरो कामना छ । नयाँ वर्षलाई शुभ साइतका रुपमा मानेर हरेक नागरिक आ–आप्नो कर्म मा जुट्यौ । विगत वर्षलाई भुलेर नयाँ वर्षलाई थप उत्साह र उमङ्गका साथ सबै नेपालीले बिताउने प्रण गरौँ । देशको जतिसुकै कठिन परिस्थितिमा पनि निराश नभई आशावादी बन्ने कोसिस गरौँ । गतवर्ष सुरुवातदेखि नै मुलुक विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट गुज्रनु परेको थियो र हालसम्म पनि त्यसैको त्राशमा बाच्न विवस छौँ । सारा विश्वलाई नै एकैसाथ आक्रमण गरेको कोरोना भाइरसका कारण कुनै पनि क्षेत्र अछुतो रहन सकेन ।

उद्योग कलकारखाना, होटल, पर्यटन, हवाइ क्षेत्र, शैक्षिक संस्था, साना तथा ठूला पसलदेखि दैनिक ज्याला मजदुरी गरी जीविका चलाएका समेत एकैपटक चरम आर्थिक सङ्कटमा परेको यथार्थ लाई अझै भुल्न सकेका छैनौँ । यसबाट सबै भन्दा बढी दैनिक ज्याला मजदुरी हरु मर्कामा परे । यसको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रमा पर्‍यो । कोरोनाको दोस्रो लहर नेपालमा पुनः देखिएको कारणले केही समय मत्थर भएको कोरोना संक्रमणपछि लयमा फर्कनै लागेको आर्थिक क्षेत्रले फेरि पनि पुरानै नियति भोग्नुपर्ने हो कि भन्ने चिन्ता थपिएको छ । यही अवस्था रहरिह्यो भने विगत वर्ष जस्तै यो नयाँ वर्ष पनि उमङ्ग भन्दा चिन्ता र भयमै बित्ने संकेत देखिएको छ । यो चिन्ता र भयबाट पार पाउन सबैको सामुहिक पहल कदमी जरुरी छ । अब कोरोनाबाट कसरी सुरक्षित रहने भन्नेतर्फ सबै सचेत हुनु आवश्यक छ ।

सबै स्वास्थ्य सुरक्षाका मापदण्डमा ध्यान दिन सकियो भने पक्कै पनि कोरोना हामीसँग आउने छैन । कोरोना कहरबाट मुलुक आक्रान्त भइरहेकै बेला मुलुकले राजनीतिक सङ्कटको सामना गरेर अघि बढ्यो । सत्तासीन दलको आन्तरिक विवादका कारण हामीले संसद् विघटनको असफल प्रयासको सामना गर्नुपर्‍यो । झन्डै दुईतिहाइ जनताको समर्थन बटुलेर गठन भएको सरकारसमेत धरापमा परेको छ । कारण नेताहरुको सत्तास्वार्थ नै हो । राजनीतिक दलको यो गतिविधि देख्दा जनता चरम निरासामा छन् । उनीहरूको चाहनामाथि कुठाराघात भएको छ ।

मुलुकमा राजनीतिक संकट अझै गहिरिँदै गइरहेको छ। अहिलेको अवस्था हेर्दा मुलुक यो संकटबाट सजिलै उम्कन सक्ने अवस्थामा छैन । यसका लागि राजनीतिक दल सत्तास्वार्थको संकीर्ण सोचबाट माथि उठ्नु जरुरी छ । नेताहरुले सत्ता र शक्तिलाई मात्रै ध्यान दिने मानसिकता त्याग्नुपर्छ । राजनीतिक दलले सत्ता स्वार्थको संकीर्ण सोच हटाउनुपर्छ । हामी सबै मिलेर मुलुकलाई राजनीतिक, सामाजिक र आर्थिक रूपले सवल बनाउने कुरामा ध्यान दिन सिकौं ।

यसमा तपाइको मत

अन्य समाचार