डा. डीआर उपाध्याय
काठमाडौं,
चैत ३० ।
मुलुकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण दर पुनः उकालो लाग्ने सङ्केत देखिन थालेको छ । फेरि जनतामा एकखालको त्रास उत्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले दिनहुँ तीन सय जना हाराहारी नयाँ संक्रमित थपिन थालेका छन् । यो बडो चिन्ताको बिषय हो । अव हामी सवै नागरिकहरु सचेत बन्नु पर्ने बेला फेरि आएको छ । कोही पनि यो रोगसँग हेलचेक्राइ गरेर बस्नु हुँदैन । कोरोना संक्रमण भनेको महामारी हो । योसंग डराउनुका साथै सचेत हुनुपर्छ ।
सवै भन्दा पहिला आफू सचेत भएर अरुलाई सचेत गराउनु पर्छ । अहिले विश्वभर जुन किसिमले पुनः संक्रमण दर बढिरहेको छ, त्यस हिसाबले यहाँको थोरै मात्राकै सङ्ख्यात्मक वृद्धिलाई पनि खतराको सूचकका रूपमा लिनुपर्छ । अव ढिला नगरी कोरोनालाई नियन्त्रणमा ल्याउनका लागि सरकार अग्रसर हुनुपर्छ । पूर्व तयारीका साथ सरकार बस्नुपर्छ । रोगले माहामारी लिए पछि गरिएको तयारीले कुनै अर्थ रहने छैन । राजनीतिक दलहरूले केही महिना अघि कोरोनाको कुनै वास्ता नगरी कैयौं ठूला सभा–सम्मेलनहरू गरे । यो प्रवृत्ति अहिले पनि कायमै छ ।
यस्ता भीडभाडले संक्रमण फैलन सक्छ । भएको त्यही हो । संक्रमण दर फेरि उकालिन थालेपछि सरकारले २५ जना भन्दा बढिको भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । तरपनि त्यसको पूर्ण पालना भएको पाइँदैन । पछिल्लो समय २५ जनाभन्दा बढीको भेलामा रोक लगाउन स्वास्थ्य मन्त्रालयले जुन आग्रह गरेकोछ । त्यो सम्बन्धित सबैले मान्नुपर्छ । सानातिना भेलामा पनि स्वास्थ्य मापदण्ड अपनाउन कसैले भुल्नु हुँदैन । यो कुरामा अटेरी गर्ने काम कसैले गर्नु हुँदैन ।
मापदण्ड अपनाएको नअपनाएको बारे बेला बेलामा सरकारी पक्षबाट अनुगमन हुनुपर्छ । घरबाहिर निस्किँदा हरेकले जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गरौं । हामी सवैले अनिवार्य रूपमा मास्क लगाउन, बेलाबेलामा हात धुन वा ‘स्यानिटाइजर’ प्रयोग गर्न र व्यक्तिगत दूरी कायम राख्न नभुलौं । सहरबजार, भीडभाडमा जाँदा होस् या सार्वजनिक यातायात चढ्दा होस् हामी सवैले विशेष सतर्कता अपनाऔं । विश्वभर कोरोना भाइरसका नयाँ प्रजातिहरू फैलिरहेको र नेपालमा पनि त्यसको नमुना देखिइसकेकाले हामी धेरै सजग रहन आवश्यक छ । अव सम्बन्धित सबैको जोड संक्रमण फैलिन नदिनेमै हुनुपर्छ । महामारीसंग लडन सवै जुटेर अघि बढनुपर्छ । सरकारको मात्र एकल प्रयासले केही हुँदैन ।
सरकारले उचित कार्ययोजना भने बनाउनुपर्छ, नागरिकले त्यसमा साथ दिनुपर्छ । अव महामारी अनियन्त्रित ढङ्गले बढ्न नदिन परीक्षण र ‘कन्ट्याक्ट ट्रेसिङ’ को दायरा फराकिलो बनाउनुपर्छ । पछिल्लो समयमा आएर भारतमा संक्रमितको सङ्ख्या बढिरहेको छ, त्यसलाई हेरेर पनि हामी अहिल्यै सचेत बन्नु पर्ने आबश्यकता देखिएको छ । अव सीमानाकाहरूमा कडाई गर्नुपर्छ । बिगतमा जस्तो अस्तव्यस्त हुन दिनु हुँदैन । विगतका कमजोरीहरूबाट पाठ सिकेर जानुपर्छ । भारतमा दिनहुँ करिब डेढ लाख जनामा संक्रमण देखिन थालिसकेकाले यो पाटोमा विशेष ध्यान दिनुपर्छ ।






