भक्तपुरमा बिस्का अर्थात बिस्केट जात्रा सुरु

भक्तपुर
चैत २८ ।

भक्तपुरमा आजदेखि बिस्का अर्थात बिस्केट जात्रा सुरु भएको छ । आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु भएको हो ।

आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्का जात्रा आउँदो वैशाख पाँच गतेसम्म सञ्चालन हुनेछ ।

भैरवनाथको रथ टमौढीबाट पूर्वमा बुलुबुलु हिटी र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने भएको छ । त्यसक्रममा आवश्यक व्यक्तिबाहेक अरुलाई रथमा चढ्न रोक लगाइने भएको छ ।

लिच्छविकालदेखि सुरु भएको जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन रहेको छ ।

यो जात्रा भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि भैरवनाथकै रथ तानेर गरिन्छ ।

बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य सुरुको दिन टौमढीमा रथ तान्ने, चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहित लिङ्गो ठड्याउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते टौमढीमा भैरवको रथलाई तानेर मनाउने गरिन्छ ।

गत साल भने कोरोना महामारीका कारण यो जात्रा स्थगन गरिएको थियो । यसपालि पनि स्थानीय प्रशासनले जात्रा रोक्ने निर्णय गरेको थियो । तर, स्थानीय बासिन्दाको विरोधपछि खुला गरिएको हो ।

 

यसमा तपाइको मत

अन्य समाचार