✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
चैत २१ ।
नेकपा एमाले भित्रको विवाद र त्यसले निम्ताएको राजनीतिक सङ्कट नै अहिले सबैको चिन्ता, चासो र जिज्ञाशाको विषय बनेको छ । नेकपा एमाले मिलेर जानुपर्छ भन्ने कुरा देशको हितमा छ । दल र तिनका नेताहरू फुटेर कसैलाई फाइदा छैन । राजनीति भनेको जनताको सेवा गर्ने चिज हो । पद, पैसा र शक्तिको दुरुपयोग गरेर राजनीति गनुहुँदैन । यसले मुलुकलाई पछाडी लैजान्छ । अहिले जुन किसिमको राजनीति दृश्य देखिएको छ । त्यो जनतालाई मन परेको छैन ।
हामीले बुझेको राजनीति भनेको त समाजसेवा हो । राजनीतिक दलका नेताहरू बेइमानी भए । जनताको भबिश्य भन्दा पनि आफनो भबिश्य बनाउने तिर नेताहरू लागे । सवै भन्दा ठूलो समस्या यो हो । हाम्रो देशमा राजनीतिको नाममा अरबौँपति बनेका नेता प्रशस्त छन् । हिजोका दिनसम्म राम्रोसँग चप्पल लगाउन नसक्ने अधिकांश ती नेताहरूको अहिले आलिसान महल, गाडी बैङ्क व्यालेन्स सबथोक छ । अहिले नेपाली राजनीति लगानी बिनाको व्यापार भएको छ, राजनीति गर्न अलि अलि भाषण गर्न सिके भयो । पछिल्लो पुस्ता राजनीतिमा त्यति आर्कर्षित छैन । राजनीतिले वितृष्णा जन्मायो । २०४६ सालको परिवर्तन पछिका पाँच, छ वर्षसम्म राजनीतिलाई ठूलो इज्जतले हेरिन्थ्यो । अहिले राजनीति गर्नेको इज्जत छैन ।
यो किन यस्तो भयो । समिक्षाको बिषय बनाइनुपर्छ । धेरै पहिले नेता भनेपछि इज्जत, मान, सम्मान र प्रतिष्ठा दिइन्थ्यो । नेतासँग बोल्न डराइन्थ्यो । त्यस्तो थियो कुनै बेला । त्यस बेलाका नेताहरू त्यागी र निस्वार्थी पनि थिए । तिनीहरूले लाभको राजनीति कहिल्यै गरेनन् । देश र जनताका लागि सोच्थे । तर, अहिलेका नेताहरू आफ्नो व्यक्तिगत स्वार्थ भन्दा अरु केही हेर्न सकेनन् । जसका कारण राजनीति दुषित भयो । अब राजनीतिलाई सफा गर्नुपर्ने आवश्यकता छ । राजनीति आफैँमा दुषित होइन । राजनीति गर्ने नेताहरूको व्यावहार, नैतिकता र चरित्रका कारण दुषित र बदनाम भएको छ ।
कारण के हो भने राजनीतिको नाममा कमाउने र ठग्ने खेला भयो । जनताको आवश्यकता र समस्या केछ त्यो बुझ्ने फुर्सद कसैलाई छैन । चर्को भाषण गरेर मात्र मुलुकको समस्या समाधान हुँदैन, चर्को स्वरमा कराउँदैमा नेपालमा साम्यवाद आउँदैन । साम्यवाद आउने भए हामी त्यो भन्दा बढी चर्को स्वरमा कराउन सक्छौँ । आज देशमा अर्को समस्या के देखिएको छ भने उत्पादनमुखी काम गर्ने भन्दा बढी राजनीति गर्ने नेता धेरै भए । हामीले देखेका छौ, जुन देशमा धेरै नेता हुन्छन् त्यो देशको विकास हुन समय लाग्छ । देशको आर्थिक स्रोतले देशको बिकास गर्ने की नेता पाल्ने ? यो नै अहिले गम्भिर प्रश्न बनेर खडा भएको छ । देशको विकास गर्न उत्पादनमा लाग्नुपर्छ ।
देशका धेरै जसो मानिसले राजनीति गरेपछि उत्पादनको काम कसले गर्ने ? अहिलेको हाम्रो देशको समस्या, तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताकार्यकर्ता पाल्नुपर्ने अवस्था छ । देशको आर्थीक अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । आर्थिक अवस्थाका कारण देश चलाउन धौ-धौ परेको अवस्था छ ।
हिजोका नेता र आजका नेतामा धेरै फरक छ । हिजोका नेताहरू जनता प्रति इमान्दार थिए । खै आज त्यो इमान्दारीता देखाएको ? देशमा नेताहरू इमान्दार नबनेसम्म देशको बिकास सोचे अनुसार अघि बढन सक्दैन । हामीले देखिरहेका छौ, आज जुन किसिमले दलहरू र तिनका नेताहरू सत्ताका लागि लडिरहेका छन, त्यो मुलुकका लागि राम्रो सङ्केत होइन । देश बनाउन दुरदर्शी सोच र ढृढइच्छाशक्ति चाहिन्छ ।






