काठमाडौं,
चैत २१ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकैपटक १६५ वटा सडकको शिलान्यास गर्दैहुनुहुन्छ । हरेक निर्वाचन क्षेत्रमा एक-एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्नुहुने छ । प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट आज बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरूले सिफारिस गर्नुभएको छ ।
गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गर्नुभएको थियो ।






