काठमाडौं,
चैत १९ ।
नेपाल चलचित्र कलाकार संघले मंगलबार एउटा ऐतिहासिक कार्य गरेको छ । नेपाली चलचित्रका जेष्ठ अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सव पारेर कलाकार संघले उहाँकै निवासमा पुगेर तामपत्रसहित शुभकामना व्यक्त गरेको हो ।
चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा गोदावरीस्थित अभिनेता बस्नेतको अहिलेको निवास गएको कलाकारहरूको एक समूहले उहाँलाई खादा लगाएर तामपत्रसहित सम्मान गरेको थियो ।
उक्त अवसरमा संघका अध्यक्ष रविन्द्र खड्काले संघ सबै कलाकारहरूको अभिभावक भएकाले सबै कलाकारहरूको सुख दुस्खमा साथ दिनु संघको दायित्व एवं कर्तव्य भएको कुरा स्पष्ट पार्दै बिश्व बस्नेतले नेपाली चलचित्र क्षेत्रमा गर्नु भएको योगदान र संघ स्थापनाका लागि गर्नु भएको प्रयासको प्रशंसा गर्नु भएको थियो ।
‘दुःखमा मात्रै होइन, सुखमा पनि आफ्नो परिवारको खोजीगरी कम्तीमा ३० वर्षको चलचित्र यात्रा पुरा गर्ने वरिष्ठ चलचित्रकर्मीका सुख-दुःखमा घर-घर पुग्ने सोचको सुरुवात आज अभिनेता विश्व बस्नेतको ७५ औं वर्षको शुभजन्मोत्सवबाट सुरु गरिएको छ’, कलाकार संघका अध्यक्ष खड्काले भन्नुभयो ।
‘अभिनेताको रूपमा नेपाली चलचित्रमा अभिनय यात्रा प्रारम्भ गर्ने सबैभन्दा जेष्ठ अभिनेता उहाँ नै हुनुहुन्छ, अध्यक्ष खड्का भन्नु हुन्छ-‘यो परम्पराको थालनी आजैदेखि गरिएको छ । अब कलाकार संघका कुनै पनि सदस्यहरुले एक्लो महसुस गर्न पर्ने छैन, चाहे बिमारी पर्दा होस् अथवा कुनै समस्या पर्दा होस्, चाहे खुशीकै सुअवसर होस्, आफ्नो परिवारका लागि अभिभावकत्व अथवा संरक्षकत्व ग्रहण गर्न पछि पर्ने छैन ।’
नेपाल चलचित्र कलाकार संघको आयोजनामा सम्पन्न जन्मोत्सव समारोहको विशेष व्यवस्थापन टौखेल, गोदावरीस्थित आशा नेपाल (होप नेपाल) की सञ्चालिका बिमला थापाले गर्नुभएको हो । अभिनेता विश्व बस्नेत पछिल्लो एक वर्षदेखि त्यही संस्थामा बसोबास गरिरहनु भएको छ ।
कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला भन्नुहुन्छ- ‘विशिष्ट चलचित्रकर्मी अभिनेता श्रद्धेय विश्व बस्नेतको जन्मोत्सव नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाको अगुवाईमा र विशिष्ट चलचित्रकर्मीहरूको सहभागितामा मनाउन पाउँदा हामी गौरवान्वित भएका छौं । यो एउटा ऐतिहासिक क्षण हो । ५० वर्ष चलचित्रका लागि आफ्नो जीवन समर्पित गर्नु भएका श्रद्धेय विश्व बस्नेत आजदेखि ७५ वर्षमा प्रवेश गर्नु भएको छ । उहाँको सुख, सम्बृद्धी तथा दीर्घायुको कामना गर्दछौं ।’
संघका अनुशासन समितिका संयोजक तथा द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, संघका सल्लाहकार तथा निर्माता मदुकुमार श्रेष्ठ, चलचित्र जाँच समितिका सदस्य राजेश महर्जन, अभिनेता राज घिमिरे, राजेन्द्र विशुराल, शंकर श्रेष्ठ, समाजसेवी विक्रम खडका, समाजसेवी शुभाष खडका, कलाकार जितेन्द्र धर, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडका, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, सह कोषाध्यक्ष पवित्रा आचार्य, कार्यसमितिका सदस्य उद्धवराज भट्टराई, रामेश्वर बुर्लाकोटी, रामेश्वर जंग केसी, सञ्चारकर्मी कृष्ण भट्टराई, सूर्य चन्द, चक्रबहादुर चन्द, साहित्यकार विप्लब प्रतिक लगायत आशा नेपालका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती थियो ।
चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा सञ्चालित उक्त कार्यक्रममा कलाकारहरु मदनदास श्रेष्ठ, पुरन जोशी, कृष्ण मल्ल, शिव श्रेष्ठ, जय श्रेष्ठ, मदुकुमार श्रेष्ठ, नारायण प्रधान, राज घिमिरे, उद्वव भट्टराई, पवित्रा आचार्य आदिले अभिनेता विश्व बस्नेतलाई सुस्वास्थ्य तथा दिर्घायुको कामनासहित जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो ।






