काठमाडौं,
चैत १५ ।
कामाडौंवासीका लागि सपना बनेको मेलम्चीको पानी विपनामा परिणत भएको छ । आइतबार काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट उपभोक्ताको घरका धारामा पानी खसालेर एउटा बहुप्रतिक्षित योजनाको परिणाम जनताका बीचमा पुर्याइएको हो ।
आजबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण कार्य सुरु गरिएको छ । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गर्नुभएको हो ।
हाल पुराना पानीपोखरीहरूमा सिन्धुपाल्चोकको मेलम्चीबाट ल्याइएको पानी भरेर पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र नयाँ पाइपलाइन परीक्षण गरी पानी थप गर्दै लैजाने केयूकेएलले जनाएको छ ।
काठमाडौंवासीले झण्डै तीन दशकदेखि मेलम्चीको पानीको प्रतीक्षा गरेका थिए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आजभन्दा तीस वर्ष पहिले देखेको मेलम्ची सपना यथार्थमा पूरा हुन तीन दक लागेको हो ।






