✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
फागुन २७ ।
आज महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ । हिन्दूहरूको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरलाई मानिदै आएको छ । यो मन्दिरमा बिशेष गरेर बालाचर्तुदशी र शिवरात्रिमा मेला लाग्ने गर्छ । आजको दिन छिमेकी देश भारतलगायत अन्य ठाउँबाट समेत पशुपतिनाथमन्दिरमा दर्शनार्थीको घुइचो लाग्ने गर्दछ । भारतदेखि साधु सन्तहरू एक हप्ता अघिदेखि आउने गर्दछन् ।
शिवरात्रीको दिन पशुपतिनाथ मन्दिरमा विभिन्न सामाजिक संघ सस्थाबाट निःशुल्क भोजन र औषधि उपचारको समेत व्यवस्था गरिएको छ । भक्तजनको लागि यो सुविधा हरेक वर्ष उपलव्ध हुँदै आएको छ । यसदिन विशेष गरेर मनकारी व्यक्ति तथा संघ सस्थाहरूले आफू सक्दो सेवा र सहयोग गर्ने गर्दछन् । आजको दिन पशुपति नाथ मन्दिरमा असख्य भक्तजनको भिड लागेको दृश्य देखिन्छ । हिन्दूधर्मालम्बीको लागि आजको दिन विशेष महत्वको दिन हो ।
यसले आम जनमानसमा भगवान् शिवप्रतिको आस्था प्रकट गर्छ । यसबाहेक घरघरमा रहेर शिवको उपासना गर्नेहरू पनि असङ्ख्य हुन्छन् । हरेक उमेर समूहका व्यक्तिमा शिवभक्ति उत्तिकै देखिनुले हिन्दू सनातन परम्पराप्रति हाम्रो आस्था झनै बढेर गएको छ । शिवभक्ति र शिवरात्रिको नाममा धर्म प्रति विकृति निम्ताउन दिनु हुँदैन । किनभने अहिले शिवरात्रिलाई ‘नांगा बाबा’ हरूको दर्शन गर्दै ‘शिवबुटी’ का नाममा लागुपदार्थको निर्बाध प्रयोग गर्नेहुँदा यसलाई नेपाल सरकार र सरोकार वाला निकायले निग्रानीका रुपमा हेर्नुपर्छ । धर्म प्रतिको आस्थाले मानिसलाई अनुशासनका साथै आत्म सन्तुष्टि दिने गर्छ । हाम्रै समाजमा पनि भौतिक सुखसुविधाले पूर्ण भएकाहरू मानिसहरू पनि मानसिक दुःखका कारण रोगी बनिरहेको देखिन्छ ।
धर्मको वास्तविक अर्थ नबुझ्नेहरु जुनबेला पनि अरुको कुभलो चिताउन छाड्दैनन् । मानव सेवा नै धर्म हो भन्ने कुरा त्यस्ता कुभलो चिताउने मनले सोच्दैनन् । त्यस्ता व्यक्तिहरू समाजमा केही मात्रमा भेटिन्छन् । आफ्नो भलाइका लागि मात्र नभएर अर्काको कुभलोको चिताउँदै मन्दिरमा जाने र भगवान्लाई भाकल गर्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आज पशुपतिनाथ मन्दिरमा निकै घुइँचो लाग्ने हुँदा त्यसको फाइदा उठाएर केही गलत प्रवृति भएका व्यक्तिहरूले जुत्ता–चप्पलदेखि गर–गहना चोर्नेहरू पनि हुन्छन् । यसमा तपाईं हामी सबै सचेत बन्नु पर्ने देखिन्छ ।
त्यसैले पर्व र परम्पराका नाममा हुने विकृतिलाई अन्त्य गर्दै ती पर्व एवम् धर्मको सही अर्थबोध गर्नुपर्ने आवश्यकता देखिएको छ । शिवले विष, भाङ, धतुरो आदि सेवन गर्दछन् भन्नुको अर्थ जीवन-जगत्मा राम्रा-नराम्रा सबै पक्ष हुन्छन् र ती सबैको आआफ्नै महत्व पनि हुन्छ । सही प्रयोगद्वारा विष पनि औषधि बन्न सक्छ ।
समाज परिवर्तनका लागि जाति र वर्गको अन्त्य हुनुपर्ने मान्यता शिवले सतीसँग विवाह गरेर सुरुवात गरेका हुन् । दक्ष प्रजापतिजस्ता राजाकी छोरी सतीदेवीसँग विवाह गर्न शिव सन्न्यासी रूपमा जानुको कारण यही थियो । सोही कारण देवी सतीले पनि शिवलाई सहर्ष स्वीकार गरेको पाइन्छ । समाजमा पूजिपति वर्गले विपन्न वर्गप्रति राख्ने नकारात्मक धारणा र उनीहरूलाई दिइने दुःख पिडाका कारण जीवनको वास्तविक यथार्थलाई सतीदेवीमाथि उनका माइतीद्वारा गरिएको अपमान तथा त्यसलाई सहन गर्न नसकी उनले गरेको आत्मदाहको घटनाले यथार्थ चित्रण गरेको छ ।
शिव र सतीको कथा दाम्पत्य प्रेमको अमर गाथा हो । अन्त्यमा शिवरात्रीको महिमा पौराणिक कालदेखि आजसम्म रहँदै आएको छ । आजको दिन अविवाहित महिला शिव जस्तै पति पाउने विश्वास र विवाहित महिला आफ्ना पतिको दीर्घायुको कामना गर्दै वर्त बस्ने चलन रहेको छ ।






