काठमाडौं,
फागुन २३ ।
प्रतिनिधिसभा पुनःस्थापनापछि आज पहिलो पटक बैठक बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार प्रतिनिधिसभाको बैठक आज ४ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने भएको हो । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ मा सरकारले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि पहिलो बैठक भएकाले निकै महत्वका साथ हेरिएको छ ।
प्रतिनिधिसभाको यही अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना छ । प्रधानमन्त्री ओलीले अविश्वास प्रस्तावको दृढताका साथ सामना गर्ने बताउँदै आउँनुभएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू नेतृत्वको समूहको संसदीय दलको शनिबार बसेको बैठकमा संसद्मा प्रतिबद्ध भएर जिम्मेवारीपूर्ण प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिइसक्नु भएको छ ।






