✍️हेमराज अधिकारी
तुमिन, पूर्व सिक्किम
फागुन १६ ।
मकै महाजनले आफ्नो घर दुरुस्त राखेका थिए । बदलिंदो सामाजिक परिस्थितिले उनलाई कुनै फरक पारेको थिएन । समाजमा जतिनै बिल्डिङ र पक्की घर बनाउने होडबाजी मच्चिए पनि मकै महाजनले आफ्नो जिजु च्याब्जुले बनाएको घर नभत्काउने फैसला लिए । भुइचालो आएर किच्याए किच्याउछ तर मेरो चार पुस्ताको अमर निशानी म धुलिसात गराउन चाहन्न भनेर कोदो महाजनसँग सोझै बाझेका थिए ।
आफ्नो छोराछोरीले ‘बाबा अब हामी समयवान हुनुपर्छ यो पुरानो घर भत्काउनु पर्छ र एक तला भए पनि आधुनिक सुख सयलको घर निर्माण गर्नुपर्छ’ भन्दा मकै महाजनले चिरेको दाउराले जेठालाई खेदेर माथि चिलाउने डाडो सम्म पुर्याएका । ‘म मरे पछि तिमीहरूको खुशी गर्नु’ भन्दै बुढा बंगाली बेर्दै खुकुरी भिरेर मालिङ्गो काट्न उकालो लागे । कोदो महाजनले पनि मकै महाजनको घर परिवारलाई सम्झाउने कोशिस गरे । अन्तमा बाबुको फैसलालाई सबै छोराहरूले सर्वमान्य ठानेर उक्त पुरानो पुर्खौली घर सुरक्षित राख्ने निर्णय गरे । बुढालाई उक्त घरमा छोडेर सबै छोरा बुहारी आ-आफ्नो डिउटिमा गए । छोरा-बुहारी हुने खाने थिए, शहरमा नोकरी-चाकरी गर्थे, छुट्टी तथा सरकारी विदामा घर आउथे, बाबुलाई घर खर्च दिन्थे, असि बर्षको उमेरसम्म मकै महाजनले कुनै खोप लाउनु परेको थिएन । ट्याब्लेट खानु परेको थिएन । माटोको तातो घरमा बस्थे, पाली घरमा चुल्हो चौको थियो, पालिको मुनि तलामा दुई माउ लहिनो गाई पाल्थे, चोरको भय थिएन । ठूलो अट्टेको चामलमा पिसेको मकैको चामल मिसाएर बुढाले भड्डु हुँड्ल्थे । बुढि पनि तगडा थिइन् ।
बुढा माथि सिकुवाको (वराण्डा)मा बसेर महाभारत र रामायणका श्लोक गाउथे, बुढि मनिपुरे ड्बकामा फिका चिया र भुटेको मकै, मुलाको साग ओसार्थिन् । असि बर्षको उमेरमा पनि बुढा–बुढि रातोपिरो थिए । भक्मिलाको अमिलो र फिलुङ्गेको अचार खुबै मन पराउथे । हिउँदमा उत्तिस र चिलाउनेको दाउरा खुबै बालेर जीउ तताउथे । बुढा-बुढिको शरीरमा कुनै रोग थिएन । बडो सुख सयलको जिन्दगी थियो ।
जेठो छोरा बन संरक्षण अधिकारी थियो बन बिभागको । उनीहरू आफ्नो परिवारसँगै शहरमा बस्थे । घरै शहरमा निर्माण गरेको थियो । माइलो पनि शहरमै थियो । सरकारी वकिल थियो । एकदिन अचानक जेठो छोरा बिरामी भयो । अस्पतालमा उसको उपचार हुन् थाले पनि निको हुन सकेन । खबर बाबुको कानमा पर्यो । बाबुले बिरामी छोरालाई घरमा ल्याउने आग्रह गरे । बुहारी-नातिले बिरामी बाबुलाई घरमा ल्याए । जेठाको होस्चेत थिएन । मकै महाजनले आफ्नो साठी बर्षको छोरा आँफू भन्दा बुढो देखे । बिरामी छोराको निसंकोच सेवा गर्न थाले । उसलाई अगेनाको छेउमा ओछ्यान ओछ्याएर दाउरा बाल्दै महाकाली र तोरिको तेल पेटमा दल्दै भुँडी सेक्नुसम्म सेके ।
आफ्नै बारीमा फलेको साग सिस्नु, गट्टा भ्यागुर, धुलो-मूलो, ख्वाउन थाले । मकैको पिठोमा फापरको पिठो मिसाएर हल्का रोटी खुवाउन थाले । जेठो हप्ता-पन्ध्र गर्दै ओछ्यानबाट उठ्यो । बिस्तारै उ पूर्ण रूपमा निको भयो । बाबु छोरा लामो बात गर्थे । कुरै कुरामा बाबुले छोरालाई एक साँझ शहरको चिसो, ओस्येको, कहिले घामै नदेखिने, कुनेटो घरको बिषयमा कुरा गरे । शहरको घर त किरायाको निमित्त मात्र हुने आफ्नो र छोराछोरीको भविष्यको निमित्त त गाउँमै घर बनाएर बस्नुपर्ने बताए । जेठाले पनि चेत्नुसम्म चेतेको थियो । छोराले बाबुलाई पुर्खौली घर राम्रोसँग राखेकोमा बाबुलाई हात जोड्दै धन्यवाद दियो । मकै महाजनले आफ्नो छोरालाई आफू भन्दा बुढो देखिएको कुरा गर्यो । कुरै कुरामा जेठाले सुटुक्क आँसु पुछ्यो । राती अबेरसम्म बाबु छोरा गफ गर्दै आधा रातसम्म निदाएनन् ।
भोलिपल्ट माइलो वकिल पनि घरमा आयो । दुबै छोरा र बाबु बसेर जेठा र माइलोको लागि पनि गाउँमै सानोतिनो छरितो पुर्खौली प्रकारको घर बनाउने निर्णय लिए । ढुङ्गाको वरिपरि देबल भएको, चिलाउनेको दुइटा निदाल बलो लाएर दुई तले घर, अगाडी रेलिङ बराण्डा भएको, हिउँद बर्षालाई मध्य नजर राख्दै माथी छरितो छानो निकालेर रमाइलो घर बसाल्ने निर्णय लिए । शहर बजारमा बनाइएको घर केवल रुपैयाँ पैसा आर्जन गर्नको निमित्त मात्रै हो र आफ्नो लामो जीबन यात्राको निमित्त गाउँको पुर्खौली घरनै सबकुछ भएको बाबुले छोराहरूलाई बताए ।
मकै महाजनले पनि जिन्दगी भरी संघर्ष गरेर छोरालाई पढाएर राम्रै बाटोमा हिनाएछु भन्दै सन्तोषको श्वास फेरे । दिन ढल्दै थियो । कोदो महाजन पनि घुम्दै मकै महाजनको घर आइपुगे । दुवै छोराले नयाँ घर बनाउन टारको् पाटो वल्लो–पल्लो छेउमा कोदो महाजनलाई दिए । यत्रो पढेलेखेका छोराले कसरी मकै महाजनको प्रभावमा परे भनेर कोदो महाजन छक्क पर्दै थिए । ‘आखिर हुने बिरुवाको चिल्लो पात’ भन्दै कोदो महाजनले सुर्तिको लुँढो चिमोठटनु थाले ।






