चितवन,
फागुन ५ ।
नायक बिपिन कार्की र नायिका आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको पाँचौ बार्षिकोत्सवको अवसरमा कार्की र शर्मालाई सम्मान गरिएको हो ।
नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नायक कार्की र नायिका शर्मालाई सम्मान गरिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ बताउनुभयो । बार्षिकोत्सव कार्यक्रममा नायक कार्की र नायिका शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी , समाजसेवी र खेलाडीहरू लाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव आदरणीय चेतबहादुर सिंह ‘राजा’, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी, काँग्रेसका युवा नेता राजकुमार राजभण्डारीलगायत उद्योगी व्यवसायी, नेताको सहभागिता रहेको थियो । सो अवसरमा साहित्यकार झमक घिमिरेद्वारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा की फूल’ प्रर्दशन गरिएको थियो ।






