काठमाडौं,
माघ ३० ।
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्गलाई बिदाइ गरी गोरु वर्गको स्वागत गरिँदै छ ।
यो वर्ष तामाङ समुदायले सोनाम ल्होछार अर्थात् नयाँ वर्ष मनाउँदैछन् । हरेक वर्ष यो पर्वका अवसरमा राजधानीमा विशेष कार्यक्रम हुने भएता पनि यो वर्ष कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण विगतका वर्षहरूमा जस्तै ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा कार्यक्रम नहुने तामाङ घेदुङले जनाएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको बताइन्छ । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
सोनाम ल्होछारलाई नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले यो पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक-फरक समयमा ल्होछार मनाउने चलन छ । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
सोनाम ल्होछारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूले दाहालले शुभकामना सन्देश दिनुभएको छ । उहाँहरूले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
सरकारले सोनाम ल्होछारको अवसरमा आज सार्वजानिक बिदा दिएको छ । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा देशभर सार्वजानिक बिदा दिने निर्णय सरकारले गरेको हो । माघ २६ गते बसेको मन्त्रिपरिषदको बैठकले विदा दिने निर्णय गरेको थियो । यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिईदै आएको विदा तीन वर्ष अघि कटौती गरिएको थियो ।






