✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
माघ २३ ।
बिहीबार गरिएको आम हड्तालमा सर्वसाधरण जनताले दुःख बेहोर्नुपर्यो । सत्तास्वार्थको राजनीतिले मुलुकलाई बन्धक बनायो । यस्तो राजनीतिले देश र जनताको हित गर्दैन । बिहीबारको आम हड्तालमा ट्याक्सी, ट्रकमा बन्दकर्ताले तोडफोड र आगजनी गरे । यो देश र जनताको हित विपरित कार्य भयो ।
आफू सत्तामा हुँदा बन्द र हड्तालको विरोध गर्ने आफू सत्तादेखि बाहिर हुँदा बन्द र हड्ताल गर्ने यो कस्तो राजनीति हो ? बन्द हड्ताल, चक्काजाम जस्ता गतिविधिले जनतालाई दुःख दिने काम गरेको छ । विभिन्न राजनीतिक दल र केही समूहले आब्हान गरेका सडक संघर्षबाट जनता आजित भएका छन् । संसद् विघटनपछि मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएको छ । राजनीतिक सङ्कटलाई समाधान गर्ने बाटोतर्फ कोही पनि अग्रसर छैनन् ।
अहिलेको वर्तमान राजनीतिक घटनाक्रमलाई विभिन्न राजनीतिक दलले आ-आफ्नै तर्क गरिरहेका छन् । अहिले साना–साना विषयमा उत्पन्न भएका विवादलाई समधान गर्न नसकेर सडकमा असन्तुष्टि पोखिने गरेको छ । जनतामा असन्तुष्टि पोखिने भनेको व्यवस्था माथि नै खतरा हो । सरकारले जनतालाई निराश हुन दिनु हुँदैन । यदि जनता निराश भएभने जनताले व्यवस्था परिवर्तन गर्न सक्छन् । यो व्यवस्था कुनै हालतमा परिवर्तन गर्नु हुँदैन । अहिलेको व्यवस्था ल्याउन जनताको त्याग, तपस्या र वलिदान छ । यो व्यवस्थालाई कसैले तल माथि गर्नु उचित हुँदैन ।
जनताले लडेर ल्याएको प्राप्त उपलब्धीलाई हामी सबैले रक्षा गर्नु प्रमुख जिम्मेवारी र कर्तव्य हो । दलिय स्वार्थ र व्यक्तिगत स्वार्थमा यो व्यवस्था धरापमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि राजनीतिक र संवैधानिक समस्या उत्पन्न भएका छन् । राजनीतिक र संवैधानिक यी दुबै समस्या समाधान नभएसम्म मुलुकले निकाश पाउँदैन । अहिले मुलुक गम्भिर राजनीतिक र संवैधानिक सङ्कटमा छ । सत्तादेखि बाहिर रहेका दलहरू यतिबेला सडक आन्दोलनमा छन् । प्रचण्ड–माधव पक्षले बिहीबार आयोजना गरेको आम हड्तालले सर्व साधरण जनता धेरै मर्कामा परेका छन् ।
दैनिक ज्यालादारी गर्ने मजदुरदेखि ठूला साना होटल व्यवसाय तथा अन्य व्यवसायीहरू यस्ता बन्द हड्तालले प्रभावित छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट पनि नेपाल अछुतो रहन सकेन । लामो समय सम्मको लकडाउनले देशको अर्थतन्त्र थिलो थिलो बनेको छ । होटल व्यवसाय, शैक्षिक संस्था, उद्योग धन्दा सबै क्षेत्रमा प्रभाव परेको छ ।
सरकारको गलत कामको विरोध गर्ने र जनजीविकाका पक्षमा शान्तिपूर्ण सडक प्रदर्शन गर्ने अधिकार लोकतन्त्रले दिएको छ । तर, यतिखेर सडकमा पोखिएको असन्तुष्टिले दैनिक गुजारा गरेर जीविका धानिरहेका बहुसङ्ख्यक नागरिकका समस्यालाई छोएको छैन । अस्पताल लगिएका बिरामी बाटोमै देह त्याग्नुपर्ने अवस्थमा पुगे । परीक्षार्थीलाई निर्धारित समयमा केन्द्रसम्म पुग्न समस्या भयो । आन्दोलनकारीले जनताका यी समस्या बुझ्न सकेनन् ।
जनतालाई झुटा आश्वासन देखाएर राजनीति गर्ने दलहरुको अब भविष्य छैन । राजनीतिक दलहरूले सत्ताप्राप्तिका लागि जे गर्न पनि तयार हुन्छन् । अब जनताले राजनीतिक दल र तिनका नेताहरूको कुनै कुरा पताउने छैनन् । सत्तास्वार्थको आहालमा डुब्नका लागि राजनीतिक दलले जे जे गरिरहेका छन् यसबाट राष्ट्रले क्षति व्यहोरिरहेको छ भने आम जनता यिनका कृयाकलापबाट आजित भइसकेका छन् ।






