आमहड्तालले राजधानीको जनजीवन प्रभावित, ठाउँ-ठाउँमा सवारी साधनमा तोडफोड तथा आगजनी

काठमाडौं,
माघ २२ ।

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-माधव) पक्षले आह्वान गरेको आमहड्तालले राजधानीको जनजीवन प्रभावित बनेको छ । आम अड्ताल सफल पार्न भन्दै नेताहरू सडकमा निस्किएका छन् भने सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

केही नेतालाई प्रहरीले पक्राउ गरेको छ । कलंकीमा हड्तालको नेतृत्व गरिरहेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीका धेरै ठाउँमा प्रहरी र नेकपा कार्यकर्ताबीच घम्साघम्सी भएको छ ।

कलंकीबाट नेकपा स्थायी कमिटी सदस्यसहित हितमान शाक्य, अमृता थापा, चाबहिलबाट कृष्ण केसी, बागबजारबाट रमेश मल्ललगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

विहानैदेखि आन्दोलनकारी सडकमा उत्रिएपछि राजधानीका सवारी सधान चलेका छैनन् । आशिंक रुपमा मोटरसाइकल सञ्चालन भएका छन् । आन्दोलनकारीले केही सवारी साधनमा तोडफोनसमेत गरेको छन् ।

महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार सामाखुसीमा आन्दोलनकारीले एउटा ट्याक्सी जलाएका छन् । धादिङका कुम्ब नारायण श्रेष्ठले चलाउँदै गरेको प्रदेश-३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सी आन्दोलनकारीले जलाएका हुन् । यस्तै अन्य ठाउँमा पनि आन्दोलनकारीले सवारीसाधनमा तोडफोड गरेको उनले बताए ।

आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा नेकपाले आमहड्ताल घोषणा गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार