पोखरा
माघ १८ ।
६८ औ विश्व कुष्ठरोग दिवस पोखरामा शनिबार पत्रकार र स्वास्थ्यकर्मीबीच अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ । स्वास्थ्य निर्देशनालयले आयोजना गरेको कार्यक्रममा कुष्ठरोग लाग्नुका कारण, उपचार सेवामा बिरामीको पहुँचको अवस्था र रोग नियन्त्रणका लागि भएका गतिबिधीको बारेमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले कुष्ठरोगको पहिचान र उपचारमा पहुँच हुन सकेमा रोग निको पार्न सकिने भएकाले समुदायमा चेतनाको विकास र रोगीलाई गर्ने व्यवहार परिवर्तन गर्नु आवश्यक रहेको बताउनु । कुष्ठरोगप्रति अहिले पनि धेरै भ्रम रहेको भन्दै यसलाई चिर्न कालागि सचेतना फैलाउनुपर्ने एउटा महत्वपूर्ण कार्य भएकोले सञ्चारकर्मीहरूको भूमिका पनि बिशेष रहने उहाँको भनाई थियो । निर्देशक शर्माले समाजमा लुकेर रहेका कुष्ठरोगी फेला परेमा स्वास्थ्य संस्थामा उपचार गराउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुने र मानिस पहिलाकै अवस्थामा फर्किन सक्ने बताउभयो । सरकारले नियमति औषधि सेवन गरेर उपचार पूरा भएपछि प्रोत्साहन स्वरुप यातायात खर्च एकहजार रुपियाँ समेत प्रदान गर्ने उहाँले बताउनुभयो ।
हरियोखर्क अस्पताल पोखराका छाला तथा कुष्ठरोग बिषेशज्ञ डा. रमेश शर्माले श्वास प्रश्वासको माध्यमबाट सर्ने कुष्ठरोगको लक्षण देखिएमा स्वास्थ्य संस्थामा परिक्षण गराई उपचार गराउन अनुरोध गर्नुभयो । समयमै उपचार नगरे कृष्ठरोगले शारीरिक अपाङ्गता बनाउने खतरासमेत हुने बताउनुभयो । कुष्ठरोगीलाई नियमित औषधि सेवन गराउनका लागि सबै सचेत हुनुपर्ने भन्दै नियमित उपचारबाट कुष्ठरोगबाट हुने क्षतिलाई रोक्न सकिने उहाँले बताउनुभयो ।
स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरीक्षक लक्षमण बसौलाले कार्यक्रममा कुष्ठरोग सम्बन्धि राष्ट्रिय रणनीति, नेपाल र गण्डकी प्रदेशमा रोगको अवस्था, उपचार व्यवस्थापन आदिको बारेमा परस्तुतिकरण राख्नुभएको थियो । गण्डकी प्रदेशमा गत आ. व. मा सर्ने खालका ८८ र कम सर्ने खालका चार जान गरी ९२ जना नयाँ बिरामी पत्ता लागेका थिए भने २०७७ श्रावणदेखि कार्तिकसम्म २३ जना सर्ने खालका र एक जना कम सर्ने खालका २४ जना नयाँ बिरामी पत्ता लागेको र कार्तिक मसान्तसम्म १०१ जना सर्ने खालका र एक जना कम सर्ने खालका गरी १०२ जना कृष्ठरोगीले उपचार सेवा लिइरहेको जानकारी क्षयकुष्ठ निरीक्षक लक्षमण बसौलाले दिनुभयो । सर्ने खालका कुष्ठ रोगीका कम्तिमा एक बर्ष र कम सर्ने खालका कुष्ठरोगका बिरामीहरूका लागि ६ महिना नियमित औषधि सेवन गर्नुपर्छ साथै उहाँले प्रदेशका सबै स्वास्थ्य संस्थाहरूमा कुष्ठ रोगीको निःशुल्क निदान तथा उपचार हुने बताउनुभयो ।
पत्रकार महासघं कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले शिक्षा र चेतनाको कमीका कारण केही कुष्ठरोगी उपचारबाट बञ्चित हुन सक्ने चर्चा गर्दै, कुष्ठरोग सम्बन्धी कार्यक्रमलाई गाउँ र समुदाय स्तरसम्म पुर्र्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
नेपाल सरकारले २०६६ माघ ५ गते राष्ट्रिय स्तरमा कुष्ठरोगको निवारण भएको घोषणा गरेको थियो निवारण भन्नाले प्रति दश हजार जनसङ्ख्यामा एक भन्दा कम कुष्ठ रोगीको सङ्ख्या भएको बुझिन्छ उक्त अवधिदेखि हालसम्म नेपाल, गण्डकी प्रदेश र प्रदेश भित्रका सम्पूर्ण जिल्लाहरू कुष्ठरोग निवारणको अवस्थामा रहेका छन् ।
प्रत्येक बर्ष जनवरी महिनाको अन्तिम आइतबारलाई बिश्व कुष्ठरोग बिरुद्धको विवसको रुपमा मनाउने गरिएकोमा यस बर्ष माघ १८ गते ‘कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठ रोग व्यवस्थापनमा सक्रियता’ भन्ने नाराका नेपालभर बिभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीको स्वागत र क्षयकुष्ठ निरीक्षक लक्षमण बसौलाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला स्थित ३८ जना पत्रकार एवम् सञ्चारकर्मीको उपस्थिति थियो ।






