‘एक ज्यान दुई जुनी’लोकार्पण

काठमाडौं,
माघ ११ ।

नागरिक अगुवा, प्रखुर वक्ता एवम् बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’लोकार्पण भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति आइतबार भर्चुअल माध्यमबाटसार्वजनिक गरिएको हो ।

पाण्डे इमानदार, निष्ठावान् र पारदर्शी चरित्रको व्यक्ति रहेको लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले बताउनुभयो । ‘सार्वजनिक जीवनमा प्रवेश गरेपछि उहाँ विभिन्न क्षेत्रमा आबद्ध हुनुभयो–दलीय राजनीति, मानवअधिकारको क्षेत्र, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, विकास विमर्श र नागरिक आन्दोलन आदिमा,’ संग्रौलाले भन्नुभयो, ‘पछि लोकतन्त्र, गणतन्त्र र संघीयताको आन्दोलनमा सडक संघर्षकै माध्यमबाट पनि संलग्न हुनुभयो । ७८ वर्षको उमेरमा समेत मधेस आन्दोलनका लागि तराईका विभिन्न भाग पुग्नुभयो ।’ यसबाट पनि पाण्डे देशका जुनसुकै तह र तप्काका मानिसले आफ्नो हकअधिकार पाउनुपर्छ भनेर लड्ने व्यक्ति भएको पुष्टि हुने उहाँको भनाइ थियो ।
‘पाण्डे जति क्षेत्रमा संलग्न हुनुभयो, जहाँजहाँ उहाँले कर्म गर्नुभयो, सबै ठाउँमा छाप छाडुनुभएको छ,’ संग्रौलाले भन्नुभयो, ‘इतिहासका सबै पदचाप उहाँका कानमा गुन्जिएका छन् । आफ्नै जीवनलाई फर्केर हेर्दा आफैंले सुनेका पदचापहरूलाई शब्दमा रूपान्तरित गर्दै लेखिएको हो, यो पुस्तक ।’ निष्काम कर्म गर्न रुचाउने पाण्डेले बाँचिरहेको समयको इतिहास पनि यो पुस्तक रहेको उहाँले बताउनुभयो ।

२०१७ सालपछिको ६० वर्ष सार्वजनिक जीवनमा अलग पहिचान बनाउनुभएका सक्रिय नागरिक एवम् नागरिक अभियन्तापाण्डेले पुस्तकमा आफ्नो कार्यकालमा निर्वाह गर्नुपरेका भूमिकालाई समेटेको लेखक एवम् विश्लेषक झलक सुवेदीले बताउनुभयो । ‘अर्थसचिव र अर्थमन्त्रलयमा वैदेशिक सहायता शाखामा रहँदा आफूले गरेका काम र भूमिकाका सन्दर्भ यहाँ जसरी आएका छन्,’ उहाँले भन्नुभयो,‘आजको समयमा पनि विकास चिन्तन, वैदेशिक सहायता, विदेश सम्बन्ध र आफ्ना राष्ट्रिय स्वार्थहरूको प्रतिनिधित्व एउटा प्रशासकले कसरी गर्न सक्छ र गर्नुपर्छ भन्ने विषय यहाँ समेटिएको छ ।’

जुन उद्देश्यले नागरिक आन्दोलन भयो, आन्दोलनमार्फत सात दल र माओवादीलाई शान्तिप्रक्रियामा अग्रसर हुन उत्प्रेरित गरियो, जसका आधारमा दोस्रो जनआन्दोलनसमेत खेपेर मुलुकले राजनीतिक रूपमा नयाँ संरचनाअन्तर्गत काम सुरु गर्‍यो, त्यसपछि कम से कम जनउत्तरदायी सरकार, राजनीतिक स्थिरता आदि भएर युगौंदेखि आफ्नो उपस्थिति जनाउन नसकेको समाजका लागि केही काम सरकारले गथ्र्याे कि भन्ने आश लागेकोमा राजनीतिक व्यक्तित्व र समाजका केही तह एवम् तप्काले त्यो काम गर्न नसकेको लेखक पाण्डेको भनाइ छ ।

लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माण भएर लागू भइसकेपछि पनि यहाँको राजनीति र अर्थतन्त्रले जुन कोल्टे फेर्नुपर्ने थियो, त्यसो नहुँदा आफूलाई सधैं विरक्त लाग्ने गरेको उहाँले बताउनुभयो । ‘त्यसपछि आफ्नै जीवनलाई मैले फर्केर हेरें, आखिर मैले पनि जीवनमा के गरें त ?’ उहाँले भन्नुभयो,‘आफ्नै आत्मसमीक्षा गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले यो पुस्तक रचना हुने आधार बन्यो । र कुनै एक रात म सुत्न नसकेको अवस्थामा यसको खाका तयार पारें । र बिस्तारै लेख्दै गएँ, मिलाउँदै गएँ । अन्ततः यो पुस्तकले साकार रूप लियो ।’

पुस्तकमा पाण्डेले आफ्नो व्यक्तिगत जीवनबारे एकदमै कम तर आफूले बाँचेको समय, आफूले गरेका काम, आफूले डोर्‍याएको नागरिक आन्दोलन आदिका विषयमा चर्चा गरेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताउनुभयो । ‘यो पुस्तक नेपाली समाज, राजनीति, इतिहास र अर्थतन्त्र चियाउने आँखीझ्याल हो,’ उहाँले भन्नुभयो ।

यो कृति आत्मवृत्तान्त होइन, पाण्डेको सार्वजनिक जीवनका अनुभूतिहरूको सार हो । न्यारेसनका लागि जीवनयात्राको त्यान्द्रो समात्ने क्रममा अलिकति व्यक्तिगत, पारिवारिक जीवन भोगाइका अनुभूतिजन्य निजात्मकता अवश्य पनि यसमा घुसेका छन् । तर, यो संस्मरणको पुस्तक होइन । जेजति निजी सन्दर्भ छन्, ती सबै त्यति बेलाको समय चिनाउने आँखीझ्याल हुन् ।

‘काठमाडौं मानसिकता’सहित एउटा मध्यमवर्गीय परिवारमा हुर्केका, पढेका र २०१७ सालमा अधिकृतको जागिरबाट प्रवेश गरेर त्यसको १८ वर्षमै अर्थ मन्त्रालयको सचिव बनेपछि देशप्रतिको निष्ठा जोगाउन जनमतसङ्ग्रहका बेला राजीनामा दिनुभएका पाण्डेले आफ्नो पहिलो जुनी त्यही ४० वर्षे उमेरलाई मान्नुभएको छ । दरबार, पञ्चायत, त्यति बेलाको निजामती प्रशासनका भित्रीबाहिरी पाटा पाइने यो कालखण्डमा पञ्चायती सत्ता सञ्चालनका उज्यालाअँध्यारा पाटाका अनुभूति छन् ।

दोस्रो जुनीमा काठमाडौं मानसिकताबाट बाहिर निस्केर नेपाली समाजसँग संवाद गर्दै निरन्तर प्रगतिशील भूमिकामा रहेको एक जना लोकतान्त्रिक समाजवादी, मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवाका रूपमा देखेभोगेको समाज र समयको चित्र उतारनुभएको छ । सहभागितामूलक, समावेशी र जनताप्रति उत्तरदायी गणतन्त्रात्मक व्यवस्थाका लागि सङ्घर्ष गर्नुभएका हाम्रो समयका जागरूक नागरिकका आशा, सपना र गणतन्त्रपछि नेतृत्वमा पुगेका नेताहरूको शासन शैलीका कारण निराश बनेका आम नेपालीको एउटा जीवन्त वैचारिक विवेचनाको दस्तावेज हो, यो पुस्तक । सँगै यो हाम्रो विकास यात्रा, सुशासनका सर्त, दाताहरूसँगका सम्बन्धका जटिलता, हाम्रो छिमेक सम्बन्धका केही आयाम र राजनीतिका अनेकवली पात्रहरूका सम्बन्धमा एउटा तटस्थ मूल्याङ्कनको दस्तावेज पनि हो ।
विकास अर्थशास्त्रका विद्यार्थीहरू, निजामती कर्मचारी, राजनीतिक नेता र कार्यकर्ता, नेपालको निकट विगतको इतिहासका अध्येता खासगरी नयाँ पुस्ताका लागि समकालीन नेपाललाई चियाउन र आत्मसम्मान एवम् निष्ठापूर्वक देश अनि जनताको पक्षमा उभिन प्रेरित गर्ने सङ्ग्रहणीय पुस्तकका रुपमा यसले परिचय बनाउनेछ ।

१९९६ भदौमा काठमाडौंमा जन्मिनुभएका पाण्डे २०१७ साल चैतमा तत्कालीन श्री ५ को सरकारको निजामती सेवाअन्तर्गत शाखा अधिकृत पदमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो ।

२०३६ साल फागुनमा अर्थसचिवबाट स्वेच्छाले राजीनामा दिएका र पछि अर्थमन्त्रीसमेत हुनुभएका विशिष्ट बुद्धिजीवी तथा चिन्तनशील लेखक पाण्डेले २०१४ सालमा त्रिचन्द्र कलेजबाट बिए र २०१६ सालमा इलाहावाद विश्वविद्यालयबाट एमकम डिग्री हासिल गर्नुभएको थियो ।

संयुक्त राज्य अमेरिकाको पिट्सवर्ग विश्वविद्यालयबाट २०२० सालमा आर्थिक विकास मुख्य विषय लिई सार्वजनिक र अन्तर्राष्ट्रिय सम्बन्धमा मास्टर्स डिग्री (एमपिआइए) एवम् २०२५ सालमा सोही विश्वविद्यालयबाट सोही विषयमा पिएचडी गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार