काठमाडौं,
पुस २७ ।
पृथ्वीनारायण शाहको दुई सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण व्यक्त गर्न शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय राजपरम्पराको विशेषता भएको तथ्य स्मरण गराउँदै जनचाहनाको कदर गर्ने बताउनुभएको छ ।
शाहले राष्ट्रिय एकता कमजोर बनेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभएको छ । पृथ्वीनारायण शाहको दुई सय ९९ औँ जन्मदिन तथा राष्ट्रिय एकता दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै उहाँले नेपाल निर्माणमा आफ्ना पुर्खाको स्मरण गर्दै उक्त कुरा व्यक्त गर्नुभएको हो ।
‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी गौरवान्वित हुने गर्दछौँ । त्यो समय केवल आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट मात्र सम्भव थिएन । दैविक आशिर्वाद, अदम्य साहस, पौरख र कूटनीतिक कौशलको अद्वितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो’, ज्ञानेन्द्रद्वारा जारी वक्तव्यमा भनिएको छ ।
पृथ्वी नारायण शाहकै नेतृत्वमा नेपाल एकीकरण भएको थियो । यसै कारण उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै आएको छ ।
पछिल्लो समयको राजनीतिक अस्थीरता र त्यसले निम्त्याएको परिस्थितिबारे चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभएको छ, ‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ ।’
उहाँले राष्ट्रिय एकता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र जनताको जनचाहनालाई राजसंस्थाले जहिल्यै उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभएको छ । त्यसै अनुसार शाह वंशीय परम्परा अगाडि बढेको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ – ‘राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिमा मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुपको व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारी पनि दर्साएका छन् ।’
ज्ञानेन्द्रले नेपाली जनताले अहिले भोगिरहेको राजनीतिको समीक्षा गर्न ढिलो भइसकेको भन्दै परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काएर अरुको इच्छा पूरा गर्ने अवान्छित काम भइरहेको उल्लेख गर्नुभएको छ । राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकता बलियो बनाउनुपर्ने भन्दै यसको अपरिहार्यता भविष्यमा समेत हुने र पृथ्वी जयन्तीको सार्थकता त्यसैमा रहने उहाँको भनाइ छ ।







