काठमाडौं,
पुस १८ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ र देशका पहाडी भू-भागको मौसम सामान्यतया सफा रहनुका साथै तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको उल्लेख गरेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।
आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको र देशका बाँकी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना का साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।






