✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
पुस १२ ।
यतिबेला नेपालको राजनीति धमिलिएको छ । धमिलो पानीमा माछा मार्ने दाउ खेल्नेहरू पनि प्रशस्त छन् । उनीहरूको चाहना धमिलो पानीमा माछा मार्नु हो । मुलुकको असहज परिस्थितिबीच प्रतिगामी तत्वहरूले टाउको उठाउँदै छन् । मुलुकलाई अझै पछाडि धकेल्नेहरू पनि छन् । तिनीहरूबाट परिवर्तनकारी र लोकतन्त्रवादी शक्तिहरू सचेत र जागरुक बन्नुपर्ने बेला आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि यी समस्याहरू उब्जिएका हुन् । प्रचण्ड–नेपाल समूह एकातिर, ओली समूूह अर्कोतिरको भिडन्त सिर्जना गर्ने स्थिति आएको छ । प्रचण्ड-नेपाल समूह सडक संघर्षबाटै संसद पुनस्थापना गर्ने चुनौती दिँदै आएका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेश लिनका लागि सबै लोकतन्त्रवादीहरू चुनाबमा जानुपर्ने बताइ रहेका छन् । सबै राजनीतिक दल र तिनका नेताहरूका आ-आफ्नै दाउपेच छन् ।
कुनैपनि राजनीतिक दल र तिनका नेताहरूले देश र जनताको पक्षमा काम गर्न सकेको देखिएन । उनीहरूले देश र जनताको नाम बेचेर राजनीति गरे । चुनाब जितेर जननिर्वाचित भए अनि सरकारमा पुगेपछि जनताका सबै समस्याहरू बिर्सिए । नेताको पछि लागेर आफ्नो जिन्दगी बर्बाद गर्नेहरूको लर्को पनि छ । टाठाबाठाहरूले राजनीतिकै नाममा र नेताको पछि लागेर व्यक्तिगत सम्पती थुपारेको प्रमाणहरु प्रशस्त भेटिन्छन् ।
नेतादेखि कार्यकर्ता सम्मको सम्पति अकुत छ । सम्पति छानबिन गर्ने हो भने कोही पनि चोखो भेटिदैनन् । जो बढी भ्रष्ट छ उसैको चर्को स्वर हुन्छ । उनीहरू नै चर्का चर्का भाषण गर्दै हिड्छन् । अब नेपाली जनता नेताहरूका भाषण सुन्ने पक्षमा छैनन् । नेताका काम गराइ भन्दा भाषणले जनताहरू वाक्क दिक्क भएका छन् ।
अब जनताले भाषण होइन परिणाम चाहेका छन् । अहिलेका नयाँ पुस्ता राजनीति प्रति आकर्षित छैनन् । २०४६ सालपछि केही समय युवाहरू राजनीतिमा बढी आकर्षित थिए । राजनीतिमा चासो देखाउँथे । विस्तारै राजनीतिको प्रभाव जनमानसका सकारात्मक भन्दा नकारात्मक धेरै देखियो ।
युवापुस्ता स्वदेशमा रोजगारीको अवसर नपाएर लाखौँ युवायुवती विदेश पलायन छन् ।पढेलेखेका शिक्षित युवायुवती विकसित देशमा र कम पढेलेखेका युवायुवती खाडी मुलुकमा राप र तापसँग आफ्नो श्रम बेचिरहेका छन् । यी सबै समस्या आउनु भनेको देशको राजनीतिले सही बाटो लिन नसक्नु हो ।
नेपालमा नेकपाको नेतृत्वमा झन्डै दुई तिहाइ बहुमतको सरकार छँदाछँदै संसद विघटन गरेपछि अझ बढी राजनीतिक अन्योलता छाएको छ । यसको निकास के कसरी खोज्न सकिन्छ भन्ने कुरामा सबैको चिन्ता र चासोको विषय बनी रहेको छ । यो अवस्थाले छिट्टै मुलुकले निकास पाउने स्थिति देखिदैन ।






