काठमाडौं,
पुस ७ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट बर्खास्त गरेको छ । मंगलबार कार्की ब्याङक्वेटमा भएको सो समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई बखास्त गर्दै सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएको हो । बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।
सो बैठकमा एकीकृत नेकपाका ४४१ केन्द्रीय सदस्य मध्ये ३१० जना उपस्थित रहेको सो समूहले दावी गरेको छ । यसअघि सो समूहले पुस ५ मै स्थायी कमिटी बैठकबाट ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
अर्को बैठक बिहीबार साढे ११ बजे बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । मंगलबारको बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।
बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी भन्दै भत्र्सना र अस्वीकार गर्ने निर्णय पनि गरेको छ ।
उता नेकपा (ओली समूह)को पनि मंगलबार बिहान केन्द्रीय कमिटीको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । सो समुहले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट बर्खास्त गर्दै प्रदीपकुमार ज्ञवालीलाई नयाँ प्रवक्ता बनाएको छ ।






