चितवन,
पुस ७ ।
परशुराम पाण्डेको स्वरमा रहेको आधुनिक कवाली शैलीको गीत ‘माया दिन्छु अपार’ सार्वजनिक भएको छ । गायक पाण्डेकै शब्द तथा सङ्गीत र मनोहर सुनामको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
चितवनका मनोरम पर्यटकिय स्थलमा छाँयाकन गरिएको गीतको भिडियो पाण्डेको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । भिडियो चितवनको जलबिरेस्थित लामो झरना, नारायणी नदी किनार, लाइम एण्ड लेमनलगायतका स्थानमा छाँयाकन गरिएको छ ।
सुरेश चौधरीले निर्देशन गरेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र दीपा शर्मा फिचर्ड हुनुहुन्छ । यस्तै गायक पाण्डेसहित अन्य स्थानीय कलाकारलाई पनि भिडियोमा देख्न सकिन्छ ।
प्रवेश पण्डित, प्रितम कार्की, बिजय नेपाली र अर्जुन चापागाईले खिचेको भिडियोमा सुरेश चौधरीको सम्पादन छ । गायक पाण्डेले गीतलाई दर्शक स्रोताले मन पराउने विश्वास रहेको बताउनुभयो । उहाँले नेपाली बजारमा कवाली शैलीको गीतहरू खास्सै नबनेकोले यसबाट फरक स्वाद पाउने बताउनुभयो ।
पछिल्लो समय लोक आधुनिक गीत बढी बनिरहेको नेपाली बजारमा कवाली शैलीको गीतबाट फरक पन दिने प्रयास गरेको उहाँको भनाई छ । पाण्डेको यस अघि ‘के लानु छ र मरेर’ बोलको लोक चुट्का भजन र ‘जय शिव शंकर’ बोलको शिव भजन निकै चर्चित छ । यस्तै उहाँका आधा दर्जन बढी चर्चित भजन छन् । उहाँ चितवनमा नै सङ्गीत पनि सिकाउनुहुन्छ ।






