काठमाडौं,
पुस ६ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
तराईका जिल्लामा बिहान बाक्लो हुस्सु कुहिरो लागेको छ । तर, यो बिस्तारै हट्दै दिउँसोको समयमा घाम लाग्ने बताइएको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।
आज दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने र राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा महाशाखाले उल्लेख गरेको छ ।






