✍️ नवीन मनोहर
रामेछाप,
पुस ४ ।
जानेर हो या नजानेर
उनले यसपटक पनि
आफ्नो दस्तखतको अवमूल्यन गरिन
कति सकसले त्यो दस्तखत दिलाएका थिए
उनका आफ्नै मन पर्ने प्रियले
मानिसहरू
आफ्नो नामका खातिर
जीवनभर पर्खन्छन्
ज्यूज्यान अर्पिन्छन्
सुयोग्य कर्म गरेर
कीर्ति राख्छन्
पाटीपौवा र सालिक थाप्छन्
चौतारो चिन्छन्,
पटकपटक
उनी आफू सगरमाथा भएको महसुस गदागर्दै पनि
निरन्तर दस्तखतहरूका
असामयिक मृत्युवरणमा
फड्के साक्षी बस्छिन्,
कठै ! तिनलाई
आफ्नो त्यो महान् दस्तखतको महत्व छैन
र त चौबीस घन्टा नबित्दै
दस्तखतको स्खलन हुन्छ
पटकपटक
कहिले आफ्नाहरूबाट
कहिले आफ्नै बेशुद्धिहरूबाट !
भगवान् बेशुद्धिहरूमा
अबचाहिँ सद्बुद्धि प्रदान गर !!






