✍️ पेशल आचार्य
काठमाडौ,
पुस ४ ।
यो हिउँदमा
एकाएक तराईका उखु हराए
मानिसहरूका बस्तीबीच
हजारौं बिघामा लगाइएका
उखुहरूको अपहरणमा
पुलिस प्रशासनले तहकिकात गर्यो
केन्द्रले पुलिस र सिडिओको तत्काल सरुवा गर्यो
तानिए ती मजकुर अड्डाहरूमा चौबीस घन्टाभित्र
यता सहरमा एक्कासी
माइतीघर मण्डला र वीरेन्द्र अन्तर्राष्ट्रिय सभा गृहअघि
मानिसहरूका भाँतीमा
उखुहरूको जुलुस आयो
मानिसहरूको जुलुस हेर्न बानी परेका
तीन छक्क परे सहरका मानिसहरू
सहरीयाले गएको बर्खामा
मलका रित्ता बोराहरूको जुलुस
यसैगरी सहरमा देखेका थिए
अहिले उखुको जुलुस देखेर ती ताजुब भए,
तराईबाट सम्वाददाताहरूले बाइलाइन समाचार लेखे
यसपटक उखुबारीमा
मानिसहरू उखुका ठाउँमा फलिरहेका थिए
यता सहरमा उखुहरूको जुलुस थियो
सहरका मानिसहरूले उखुका लाँक्रा हारालुछ गरेर लगे
कसैले लाखबत्ती बालेका बेला चलाउन भनी लगे
कसैले पूजाआजामा प्रसाद बनाउन लगे
कसैले गमलामा रोप्न भनी लगे
अख्तियारले दिएको तारिखमा
घाम ताप्दै समय कटाउँदा चपाउन
काम लाग्छ भनी लगे,
विद्रोही केही उखुहरू बलजफ्ती
सिँहदरबार भित्र पनि पसेछन्
बालुवाटार भित्र पनि घुसेछन्
पछि केही पत्रिकाहरूमा पढियो समाचार यस्तो
‘उखुहरूले सत्ताका नीरोहरूको हत्या गरे’
मानिसका स्थानमा उखुले हत्या गरेकाले
बाँकी बचेका सत्ताका नायकहरू
बिलखबन्दमा परे,
गुलियो बनाउने किसानहरूका
नुनिला आँसुका ढिका
जसरी जमिनमा झरेका छन् नि
त्यसैगरी एकदिन यी सत्तासीन आततायीहरूका
गुलिया आँसुका ढिका जमिनमा खसे भने
तिनै किसानहरूले उखुले घोचीघोची
सत्ताबाट खसाल्नेछन्
त्यो दिन कुनै माइका लाल
यी आततायीहरूलाई बचाउन आउने छैनन्
हो एक दिन
किसानका आँसुको श्राप लाग्ने छ
तिनीहरूलाई !
तिमी विचौलियाहरूलाई !
माफियाका मानस पुत्रहरूलाई
र भाषणमा नसा तन्काएर चिच्याउने
सर्वहाराको दुहाई दिनेहरूलाई !!






