काठमाडौं,
मंसिर २७ ।
शनिबार थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप एक हजार ३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या दुई लाख ३४ हजार २३१ पुगेको छ ।
पछिल्लो सयमा देशभरका प्रयोगशालामा पाँच हजार २४२ जनाको नमुना परीक्षण गरिएको थियो । योसँगै हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ छ ।
११ हजार ६७३ कुल संक्रमितमध्ये ६ हजार ९३२ जना संक्रमित होम आइसोलेसनमा छन् । बाँकी चार हजार ७४१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ । बागमती प्रदेशमा चार हजार ८२ जना संक्रमित होम आइसोलेसनमा छन् । यस्तै प्रदेश १ मा ७३१, प्रदेश २ मा १३२, गण्डकी प्रदेशमा ६४, लुम्बिनी प्रदेशमा एक हजार ७४, कर्णालीमा ९२ र सुदूरपश्चिममा ७५७ जना संक्रमित होम आइसोलेसनमा छन् । यसअघि शुक्रबार सात हजार ३४१ जना संक्रमित होम आइसोलेसनमा रहेका थिए ।
देशभर शनिबारसम्म ३०३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । २६२ जना आइसियु र ४१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ३३ आइसियु र सात भेन्टिलेटरमा, प्रदेश २ मा ६ आइसियु र दुई भेन्टिलेटरमा, बागमती प्रदेशमा ७० आइसियु र १२ भेन्टिलेटरमा, गण्डकीमा ९१ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४८ आइसियु र तीन, कर्णाली प्रदेशमा सात जना आइसियु र चार जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा सात आइसियु र दुई जना भेन्टिलेटरमा छन् । यसअघि शुक्रबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३६० थियो ।
काठमाडौं उपत्यकामा शनिबार थप ४८२ जना कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९२ हजार ६८८ पुगेको छ । ललितपुरमा कुल संक्रमितको संख्या १४ हजार ३१७ र भक्तपुरमा कुल संक्रमितको संख्या आठ हजार ४२७ पुगेको छ ।
यस्तै शनिबार इलाममा तीन, उदयपुरमा एक, ओखलढुंगामा तीन, झापामा २९, भोजपुरमा एक, मोरङमा आठ, संखुवासभामा तीन, सुनसरीमा २०, धुनषामा चार, पर्सामा एक, बारामा एक, महोत्तरीमा पाँच, सप्तरीमा पाँच, सर्लाहीमा दुई, सिरहामा तीन, काभ्रेमा नौ, चितवनमा तीन, दोलखामा तीन, धादिङमा १०, नुवाकोटमा तीन, मकवानपुरमा १४, रसुवामा तीन, सिन्धुपाल्चोकमा पाँच, कास्कीमा ६९, गोरखामा तीन, तनहुँमा २०, नवलपरासी पूर्वमा २०, पर्वतमा दुई, बागलुङमा एक, स्याङजामा तीन, अर्घाखाँचीमा पाँच, कपिलवस्तुमा १०, गुल्मीमा दुई, दाङमा नौ, नलवपरासीमा दुई, पाल्पामा सात, प्यूठानमा चार, बर्दियामा ११, बाँकेमा ३३, रोल्पामा एक, रुपन्देहीमा २१, सल्यानमा १, सुर्खेतमा सात, अछाममा २३, कञ्चनपुरमा तीन, कैलालीमा चार, डडेल्धुरामा सात, डोटीमा एक, बझाङमा तीन र बैतडीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ६ सय ८९ पुगेको छ । यसअघि शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको थियो ।






