विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई, अब ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर

काठमाडौं
मंसिर २३ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गरिएको छ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरिएको हो । सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको छ ।

चीन र नेपाल सरकारको तर्फबाट आयोजना गरिएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर मापन गरिएको जानकारी दिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो ।

वि.सं. २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

सगरमाथाको उचाइ मापनका लागि नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) खीमलाल गौतमको नेतृत्वमा अधिकृत रविन कार्की, सर्वेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोली गएको थियो । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेका थिए ।

भारतले पहिलोपटक सन् १९५५ मा मापन गरेको आधारमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिँदै आएको छ । नेपालले त्यसलाई आधिकारिक मान्यता दिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार