✍️डा. डीआर उपाध्याय
काठमाडौं,
मंसिर १७ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक बिवाद चुलिदै गएको छ । यदि नेकपामा फुट भयो भने मुलुक गम्भिर सङ्कटमा फस्ने छ । गणतन्त्र, धर्मनिरपेक्षता धरापमा पर्नेछ । २०६२/०६३ सालका उपलब्धिहरू समाप्त हुने र देश प्रतिगमनतिर जाने खतरा हुनेछ । यो नै चिन्ताको विषय हो । नेकपाभित्रको अन्तरकलह छिटो समाधान हुनुपर्छ ।
युग बदलिएको छ, तर जनताको अवस्था बदल्लिएको छैन । मुलुकमा समाजवाद ल्याउनु पर्छ भन्र्ने नेताहरुको कमी छैन । तर, यो बिषमा कुनै सुरसार नै छैन । समाजवाद त्यति सजिलै आउँदैन । समाजवादको बाटो त्यति सजिलो छैन । युगले त्यसको नेतृत्व गर्ने नयाँ नेतृत्व खोजेको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको छ । संविधानमै समाजवाद लेखिएको छ । अब नेताहरूले राजनीतिक क्रान्तिका भाषण गरेर मात्र देश चल्दैन ।
अब राजनीतिक र तिनका नेताहरुमा आर्थिक क्रान्ति गर्ने दृष्टिकोण चाहिन्छ । भ्रष्टचार शून्य, गरिबी न्यूनीकरण, शिक्षा, स्वस्थ्य र रोजगारीको अधिकार जनजीवनमा लागू नगरी संविधानमा लेखिएको समाजवादको कुनै अर्थ हुनेछैन । अब युग सुहाउँदो राजनीतिक चिन्तनको आबश्यकता छ । दूरदृष्टि भएको राजनीतिक नेतृत्वपङ्क्तिको आबश्यकता छ ।
यो जनताको चाहाना र देशको आवश्यकता हो । यसबारेमा कम्युनिष्ट पार्टीले स्पष्ट नीति अघिसार्नु पर्ने आबश्यकता देखिएको छ । देशमा गुट, उपगुटको राजनीति चलेको छ । जुनसुकै पार्टीमा पनि गुटबन्दी छ । यसले समस्या पारेको छ । त्यागि र सोझा नेताहरूको स्थिति हरेक पार्टीभित्र दयनीय छ । समाजवादमा फड्को मार्ने अवसर नेपाल कम्युनिष्ट पार्टीले पाएको छ । यो अवसरलाई सदुपयोग गर्ने की नगर्ने उसको बिचार हो ।
यदि कम्युनिस्ट पार्टी विघटन, विचलन र पतन भयो भने फेरि कम्युनिष्ट आन्दोलन नउठन सक्छ । मुलुकको बागडोर समाल्ने ऐतिहासिक जिम्मेवारी पाइरहेको नेपाल कम्युनिष्ट पार्टी गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । बिभिन्न बखेडा झिकेर एकले अर्कालाई गाली गलोज गरेर पार्टी फुटाउने दुस्साहास गरे त्यो आत्मदाह हुनेछ । पार्टीको नीति, विधि, पद्घति अवज्ञा गरेर कुनै पनि नेता अघि बढनु हुँदैन । पार्टीको आन्तरिक लोकतन्त्र चुस्त दुरुस्त, व्यवस्थित नहुँदा समस्या आएको हो ।






