✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
मंसिर ९ ।
यतिवेला आन्तरिक चरम द्वन्द्वमा रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविश्यलाई लिएर धेरैले आ–आफ्ना धारण बनाइरहेका छन् । यो पार्टीको भविष्य अब के हुन्छ भनेर राजनीतिका पण्डितहरूले विभिन्न अडकलबाजी लगाइरहेका छन् । तर के पनि सत्य हो भने राजनीतिक दलमा विवाद मतभेद र झगडा हुन्छ, यो लोकतन्त्रको सुन्दर पक्ष हो । नेकपाभित्रको यतिवेला देखिएको द्वन्द्वमा कुनै नीति, बिचार, शिद्धान्तको लेप लगाइएको छैन् । यो विवाद मतभेद र झगडामा पार्टी सञ्चालन र सरकार सञ्चालनमा देखिएका मनमुटाव बाट सुरु भएको देखिन्छ । फेरि पनि लहरो तान्दा पहरो जार्दै गरेको भान भने अवश्य हुन्छ । यो झगडा नितान्त सत्ता स्वार्थको झगडा देखिन्छ सतहमा ।
देश र जनताको पक्षमा नेकपा गम्भिर हुन सकेन । यो नै समस्या हो । आम नेपाली जनता नेकपा भित्रको आन्तरिक झगडा देखेर निराश छन् । जनता निराश हुनु भनेको ब्यवस्था प्रति प्रश्न उठनु हो । यो कुरा नेकपाले बुझन जरुरी छ । यतिबेला कोरोना कहरबाट जनता आहत छन् तर सत्ताधारी दलका नेता आपसमा विवाद गरेर बस्नु भनेको राम्रो कुरा पटक्कै होइन । अब सोच्नु पर्ने बेला भएको छ । देशमा यत्रो सङ्कट आउँदा नेकपाले गरिबप्रति कुनै सहानुभूति देखाएको छैन । सर्वहाराको कुरा गर्ने ब्यवहारमा कुनै कुरा लागु नगर्ने यो नेकपाको समस्या हो ।
कोरोना तीव्र भएको मुलुक अमेरिकामा राष्ट्रपतिको चुनाव भयो । छिमेकी भारतको बिहारमा पनि चुनाव भयो । अन्य युरोपेली मुलुकमा पनि चुनाव भएका छन् । तर, हाम्रो मुलुकमा संसद्को अधिवेशनसम्म बस्दैन । यो के हो ? जनताको आवाज उठाउने थलो नै अवरुद्ध छ । विगत ६/७ महिनादेखि संसद्को अधिवेशन भएको छैन । सरकार र सत्ताधारी दल संसद् अधिवेशन बोलाउने पक्षमा छैनन् । सरकारबाट भएको गलत कामकारबाहीबारे प्रश्न उठाउने थलो भनेको संसद् हो । अब संसद अधिवेशन बोलाउनुपर्छ । सरकार किन संसद् छलिराखेको छ ? यो आम जनताको प्रश्न हो । नेपाली कांग्रेस पनि मौन छ किन ? काँग्रेस मौन बस्दा सत्ताधारी दलले मनपरी गरिराखेको छ ।
अहिले देशमा भइरहेको भ्रष्टाचारप्रति सत्ताधारी मात्र होइन, प्रतिपक्ष पनि मौन छ । उपचार र खान नपाएर जनता मरिरहेका छन् । नेकपा र सरकारको यही झगडा र काँग्रेसको मौनताले व्यवस्थाप्रति नै सर्वसाधारणको वितृष्णा पैदा भएको छ । दलका आन्तरिक किचलोले व्यवस्थाप्रति नै वितृष्णा बढदै गएको छ । यो व्यवस्थाको विकल्प खोज्नुपर्ने भन्दै आवाज उढन थालेका छन् । लोकतन्त्रविरोधी शक्ति सलबलाउन थालेका छन् ।






