काठमाडौं,
मंसिर ९ ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा झण्डै चार लाख ३२ हजार परीक्षार्थी सहभागी हुँने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । यसका लागि देशभर चार हजार १०५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ ।
विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन राष्ट्रिय परिक्षा बोर्डले निर्देशन दिएको छ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । कोरोना सङ्क्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ । परीक्षा मंसिर १६ मा सकिनेछ ।
सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अङ्क र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ । गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको थियो ।






