✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
मंसिर ४ ।
बिपन्नदेखि सम्पन्नसम्म किशोर–किशोरीदेखि वृद्ध-वृद्धासम्म अत्यन्त चासोका साथ चर्चा हुने विषय हो राजनीति । विशेष गरी प्रजातन्त्र पुर्नस्थापनदेखि संघिय लोकतान्त्रिकसम्म आइपुग्दा के देखिन्छ भने उद्योग व्यवासाय बनाए राजनीतिलाई । नेपालमा राम्रो उद्योग व्यवसायका रुपमा फस्टाएको छ राजनीति । यसविषयमा पछिल्लो समय चर्चा र बहस हुन थालेको छ । यसबारे सबै जागरुक नेपालीले चासो ब्यक्त गर्ने गरेका छन् । साना पार्टीदेखी ठूला पार्टीसम्म निर्वाचन आयोगमा विधिवत दर्ता भएका राजनीतिक पार्टीदेखि दुईचार जनाको दस्तखतबाट एउटा माइन्युट रजिष्टरमा सञ्चालित पार्टीका नेता– कार्यकर्ताहरूको जीवनशैली तडक भडकयुक्त नै पाइन्छ हामीकहाँ । राजनीतिमा लागेका धेरैको देखिनेगरी आम्दानीमूलक ब्यवसायमा लागेको खासै पाइँदैन ।
राजनीतिमा नवप्रवेशी तथा सरकारी सुविधा पाउने कुनै पदमा नपुगेका नेताहरू समेतका धेरैसँग महङ्गा गाडी छन । उनीहरू विलासी जीवन गुजारीरहेका छन् । उनिहरूका नजिकका ब्यक्ति पिठ पछाडी खुलेरै भन्छन्– नेताज्यूको ब्यवसाय हो । ठेक्का– पट्टा, कर्मचारी सरुवा- बढुवामा दलाली । एउटा चुनावदेखी अर्को चुनावसम्म अधिवेशन, महाधिवेशन, सम्मेलन– सभा आयोजना गर्ने नाममा जर्वजस्ती गर्ने गरिएका चन्दा पनि राजनीतिक ब्यवसाय बन्दै गएको छ । राजनीतिक विचौलियाहरूमा केहीको शक्ती एवम् पहुँचबाट मन्त्री–सचिवसमेत उनिहरूको ईच्छा बमोजीम ठूला–ठूला टेण्डरहरूमा निर्णय गर्न बाध्य भएको अनेक घोटाला काण्डबाट खुलासा हुने गरेको छ । राजनीतिमा हावी भएको यस्तै विचौलिया प्रवृत्तिले राजनीतिको परिभाषा नै परिवर्तित भएको छ ।
जनताको शान्ती शुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीतिका रुपमा परिभाषित राजनीति अहिले धेरै नेताहरुको कमाउ धन्दाका रुपमा विकसित हुँदै गएको छ ।
कोरोना भाइरस (कोभिड-१९) महामारीमा सर्वसाधरण जनताको जीवन निर्वाह दुस्कर हुँदा पनि उच्च पदमा पुगेका केही नेता तथा राजनीतिक वृत्तबाट भएको अनियमितता एवम् लार्पवाहिले त राजनीतिको गर्नुसम्म दुर्गंति गरेको छ । पीसीआर परीक्षण, राहत वितरण, रोजगारीको सवालमा राजनीतिक अदूर-दर्शिता, अक्षमता, अर्कमण्यता छताछुल्ल हुँदा सिङ्गो राजनीति मर्माहत भएको छ । राजनेताहरुको विचौलिया, दलाल, अवसरवादी, गुण्डागर्दि प्रवृति भएकाहरुको चँगुलबाट आफूलाई मुक्त गरेर सर्वसाधारण जनताका घाउमा मलम लगाउने नीति कार्यान्वयन गरेनन् भने भेन्टिलेटरमा पुगेको राजनीतिलाई सकुशल बाहिर निकाल्न अत्यन्त कठिन हुने छ ।






