काठमाडौं,
कार्तिक २३ ।
गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो । बारपाक वीर चक्र भिसी गजे घलेको गाउँ हो । बारपाकमा घले र गुरुङको ठूलो बस्ति रहेको छ । लकडाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारिएको छ । चलचित्रलाई खिलबहादुर गुरुङले निर्देशन गर्नेछन ।
‘बारपाकी माया २’ मा बिशेष गरेर बारपाकको जन जीवन र त्यहाँको रहन सहनलाई समेटिने जनाइएको छ । करिब ८० लाखको बजेटमा निर्माण हुने चलचित्रको छायाँकन उत्तरी गोर्खाको बारपाकलगायत सिरानचोकको आरुबोट, झारगाउँ, अजिरकोटको भच्चेक सिरानडाडा जस्ता रमणीय स्थानमा गरिने निर्माण पक्षले जनाएको छ ।
२०७२ सालको विनासकारी भूकम्प अघि बनेको चलचित्रले बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरेको थियो भूकम्पले उक्त गाउँ तहस नहस भएको थियो ।अहिले पुनर्निर्माण पछि बनेको गाउँको दृश्यहरुलाई ‘बारपाकी माया २’ले समेट्ने छ ।
नेपाल सरकारले छायाँकन गर्ने अनुमति दिना साथ छायाँकनमा जाने तयारीमा निर्माण युनिट रहेको छ । गोरखा सिरान चोक एण्ड लिग लिग कोट फिल्म्सको ब्यानरमा बन्ने चलचित्रमा वीरबल घले, सुरज गुरुङ लक्ष्मी गुरुङ, तलिसा गुरुङ, बल बहादुर गुरुङको मुख्य भूमिका रहने जनाइएको छ ।






