सरकारले हात उठायो !

✍️ पेशल आचार्य
काठमाडौं,
कार्तिक ४ ।

हुँदाहुँदा नेपालमा कोरोनाले आफ्नो रौद्र रूप देखाई छाड्यो । पाठक महोदयलाई नम्रतापूर्वक जानकारी गराउँछु कि ‘रौद्र’ भनेको शिवको रिसाहा ‘रूप’ र रुद्र भनेकै शिव हुन् । यतिखेर नेपालमा कोरोना ‘शिव ताण्डव’ (हुन त ताण्डव भनेकै शिवको हुन्छ) तोत्र गाएर नृत्य गर्दैछ ।
दिनमा १० देखि १२ जना मानिसहरू औशतमा मर्दैछन् र दैनिक ४ हजार मानिसमा भाइरस संक्रमण फैलिरहेको छ । सरकार यतिखेर आत्तिसकेको छ । उसले जनताको उपचार अब सरकारले नगर्ने भनेर बताइसक्यो । ओम्नीकै बाटो पच्छ्याउँदै फेरि सरकार इबोला भाइरसका लागि प्रयोग गरिएको ‘रेमिडेसिभिर’ नाउँको प्रतिबन्धित औषधि खरिद गर्ने चोर बाटोबाट लागेको कुरा पत्रिकाहरूले लेखिसके ।
जनताको जीउधनको ख्याल गर्नु कता हो कता सरकार कहाँ कमिसन हसुर्न पाइन्छ भन्ने मात्र सपना देख्छ । एकपछि अर्को गर्दै सबै मन्त्रीहरू खुइलिसके ।

संघीय मन्त्रीहरू कोरोनाबाट संक्रमित भैरहेका छन् । पछिल्ला दिनमा पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलल संक्रमणमा परी उपचाररत छन् ।

अहिले कोरोनाले नेपालमा रौद्र रूप धारणा गरिरहेको छ । नेपालका प्रायः त्यस्ता कुनै क्षेत्र छैनन् जो कोरोना कहरले छियाछिया नभएका हुन् । धरापमा परे सबै क्षेत्रहरू । केही जिम्मेवार स्थानीय तह यतिखेर नेपालमा हुँदैनथे भने मानिसको मृत्युदर समेत अकल्पनीय हुन्थ्यो भन्दै सम्बन्धित क्षेत्रका विज्ञहरू भनिरहेका छन् ।

नेपालमा शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातको क्षेत्र सबैभन्दा बढी गएगुज्रेको रहेछ । अहिले त्यो छर्लङ्ग देखियो । त्यो अहिले कोरोनाका मामलामा झन् क्षतविक्षत र लथालिङ्ग देखिए । हालै एक पूर्वाधार विज्ञले भने- ‘नेपालमा सार्वजनिक यातायातको क्षेत्रलाई नसुधारीकन समृद्धि आउँदैन ।’ उनले सार्वजनिक यातायातको कोणबाट मूल्याङ्कन गरेका होलान् तर माथि उल्लेख गरेझैँ सार्वजनिक शिक्षा र स्वास्थ्यलाई नसुधारीकन नेपालमा समृद्धि पक्कै आउँदैन ।

चुनावी वर्षमा स्थानीय, प्रदेश र केन्द्र तहमा नेकपाले प्राप्त गरेको मतलाई लिएर माहोल निकै तातेको थियो । त्यसबेला भौतिक विकासलाई बढावा दिएर तीनवटै तहले भ्यु टावर, बाटो, फाष्ट ट्रयाक, बिजुली, रेल र पानीजहाज जस्ता भौतिक विकासका कामलाई ठूलो स्वरले जनातालाई सुनाउने काम गरे । सो बेला प्रतिपक्षसमेत सत्तापक्षको कुरा चाल मारेर सुनिरहेको थियो । अहिले ती कुराहरू केही धिमा भएका छन् । व्यक्तिको सबैभन्दा मुख्य कुरो स्वास्थ्य रहेछ । मानिस स्वस्थ भएपछि मात्र शिक्षा र यातायात आउने रहेछन् ।
हाम्रोजस्तो देश र जनताले यी र यस्ता जब्बर महामारीलाई थेग्ने पूर्व तयारी गरेकै रहेनछौ । हामीलाई शिक्षाको वैकल्पिक मार्गबारे केही थाहा नै भएको रहेनछ । अहिले हामीले सोचजस्तो तरिकाले विद्यार्थीका सामु उसका तहको, विषयको वा सिकाइको कुरोलाई आधुनिक ीःक् को व्यवस्थापन गरेर डेलिभरी गर्न सकेकै रहेनछौं । हामी जसजसले सिकाउने/पढाउने काम पाएका छौं तिनीहरूले ‘लर्निङ् मेनेजमेन्ट सिष्टम’ लाई बल्लबल्ल आफूले सिक्ने अवसर चाहिँ यही महामारीको मौकामा पायौं ।

अझै कतिपय शिक्षक/प्राध्यापकहरू त बरू नयाँ प्रविधि सिक्नु परे आफ्नो पेन्सन भएको जागिर बिसाएर अवकाशमा जाने कुरा गर्दा रहेछन् । पक्कै यो लाजमर्दो विषय हो । जीवनमा सधैँ नित्य नवीन कुराहरू सिकिरहनु पर्दो रहेछ । नयाँनयाँ कुराहरूबाटै मानिसले केही नयाँ अवसरहरू प्राप्त गर्ने रहेछन् । अहिले कोराना भाइरस महामारीमा हामीले सिकेका कुराहरू यिनै हुन् । प्रविधिमा जोडिएर युवा र नयाँ पुस्ताले अनलाइन, गुगल मिट, जुम, गुगल क्लास रूम, यु ट्युब र अन्य प्रविधिमा आधारित भएर सिकाउने÷पढाउने काम गरेका छन् । ती प्रविधिका सिमितता समेत आफैँमा रहेछन् ।

ससाना बालबालिकाहरूलाई हामीले उनीहरूसँग मोबाइल, ल्यापटप वा डेस्कटप चलाउन सक्ने क्षमता नहुँदा केही ठूला र उमेर पुगेका कक्षाका विद्यार्थीलाई झैँ सिकाउन पाइरहेका छैनौं ।

अहिले यो माहोलमा कतिपय शिक्षक वा प्राध्यापकहरूले त सिकाइ नै फरक विषयवस्तु हो भन्ने कुरासमेत बुझेका रहेछन् । तर अहिले सिकाइ फरक होइन सिकाउने माध्यम मात्र फरक खालको हो भन्ने कुरा आम मानिसलाई बुझाउनु परको छ । जसरी भएपनि यो महामारीको वातावरणमा भौतिक दूरी बढाउँदै ‘लर्निङ् मेनेजमेन्ट सिष्टम’ को अत्यधिक प्रयोग गरी विद्यार्थीका सिकाइ आवश्यकतालाई निरन्तर पूरा गरिदिनु पर्छ ।

शिक्षाको यो सिष्टममा आइपुग्न लागि हामीले हजारौं वर्षको यात्रा गर्नु परेको छ । देवकूल, ऋषिकूल, गुरुकूल, आधार स्कुल, स्रेस्ता पाठशाला, आधुनिक स्कुल हुँदै हामी बल्ल अनलाइन बेसमा आएका छौं । यो बेस सबै होइन, केही मात्र हो । अझै हाम्रो यात्रा सुदूर भविष्यतर्फ लक्षित हुनुपर्छ ।

गरिब देशलाई अहिले प्रजातन्त्रका सूचकहरू मध्येका शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातका सबालमा कोरोना रोगको रेटिङ् स्केलले सर्वथा नाङ्गो बनाइदियो । अहिले मै हूँ भन्ने माहिरभन्दा माहिर शिक्षाविद्, स्वास्थ्यविद् र सार्वजनिक यातायातविद्हरूका पसिनाका धारा छुटेका छन् । तिनीहरू अरूलाई अर्ती बुद्धि र गफ दिन मात्रै जाजुल्ले रहेछन् । विपद्, महामारी र आपत्कालीन स्थितिमा जन सामान्यको हविगत र विशेषज्ञको हालत उस्तैउस्तै हुँदो रहेछ । यसपाला यो देखियो ।

अहिले देशलाई शिक्षाको, स्वास्थ्यको र सार्वजनिक यातायात क्षेत्रको नेता चाहिएको रहेछ जसले हामीलाई यो विकराल समस्याबाट फुत्त निकालेर बाहिर लैजान सकोस् । प्रविधिमा पोख्त प्राविधिक जनशक्तिहरू अहिले नआत्तिकन काम गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुन देशका लागि सपुत भएर काम गरिरहेका छन् । उनले राजधानी र देशका प्रमुख सहरका अस्पतालहरूमा बिग्रेर थन्केका दर्जनौं भेन्टिलेटरको मर्मतगरेर तत्तत् अस्पताल वा निकायहरूलाई सहयोग गरिरहेका छन् ।

आपत कालमा बाटो देखाउने मानिस नै सच्चा नेता हो । ‘नेता’ शब्दको व्युत्पत्ति नै ‘नयति इति नेता’ हुन्छ । ‘डोहोर्‍याउने काम गर्ने मानिस नै नेता हो’ । नेताले नै सही मार्गमा आफूभन्दा पछि हिँड्ने मानिसहरूलाई डोहोर्‍याउने काम गर्छन् ।

अहिले करिब सात महिना भयो नेपालमा शिक्षा र सार्वजनिक यातायातहरू बन्दप्रायः भएका । स्वास्थ्य क्षेत्रका प्राविधिकहरू चाहिँ अहोरात्र खटिरहेका छन् । बलिउडका महानायके अमिताभ बच्चनले त आफूलाई कोरोना भाइरस लाग्नुअघि भने पनि- ‘अहिले मन्दिरहरू बन्द भएकाले मन्दिरका देवताहरू सेता लुगा लगाएर हाम्रो अगाडि डाक्टर र नर्सका रूपमा आएका हुन् । त्यसैले तिनीहरूको मनोवल उच्च राख्न हामीले मद्दत गर्नु पर्दछ ।’ शालीन शब्दमा उनले स्वास्थ्य क्षेत्रका प्राविधिकलाई सम्मान गर्नका लागि त्यसो भनेका हुन् ।

कोरोनाले विश्वका धनी देश भनेन । गरिब देश पनि चिनेन । सबैलाई उही तरिका र उही तालमा संक्रमण गरिरह्यो । मात्र जसले खेलाँची ग¥यो त्यसलाई बढी पिरोल्यो जसले बढी सावधानी अपनायो त्यसलाई कम पिरोल्यो । यो रोगबाट बच्ने उपाय र धैर्यता हामीसँगै रहेछ ।
यतिखेर न जिन्दगीको ठेगान छ न मृत्युको हिसाब छ । सबै ‘अन नोन’ छन् । त्यसैले मानिसहरू अहिले हालैको चर्चित गीत गुन्गुनाइरहेका भेटिन्छन्- ‘सोचेझैँ जिन्दगी रै’नछ’ ।

कोरोनाका सन्दर्भमा एउटा पुरानो नेपाली उखानको याद आएको छ । अर्को अर्थ नलागेमा सो उखान जस्ताको तस्तै राख्ने धृष्टता गर्दैछु – ‘अघि राँड जानिनँ, पछि राँड मानिनँ, बाघ लाग्यो घिच्याउन, राँड लागी चिच्याउन’ । नेपालमा कोरोनाले २ जना मान्छे मर्दा सरकारले डराएर लकडाउन गर्दाको अवस्था र अहिले दिनहूँ सरदर ४ हजारका दरले बिरामी बढेका बेला यी दुई अवस्थाको तुलना गर्ने हो भने हामीले के थाहा पायौं भने हामीले परिस्थिति विश्लेषण गर्न नजानेको पक्कै हो रहेछ ।

जानेको भए, पूर्व तयारी गर्न सकेको भए र योजनालाई कार्यान्वयन तहमा फटाफट् लैजान सकेको भए नेपालमा कोरोनाको यस्तो भयावह रूप पक्कै हुने थिएन । अब ‘हगी सक्यो दैलो देख्यो’ भनेको अवस्था भएको छ ।

काठमाडौँ कोरोनाको ‘हट स्पट’ नै भइसक्यो । तर अझै बेला छ सरकारले भनेको मानेर भौतिक दूरी कायम गरी हामी घरमा बस्ने, चाडबाड मनाउने र सामाजिक जमघट तथा भेटघाटमा कम उपस्थित हुने हो भने हामीले अझै कोरोना कहरलाई जित्न सक्छौं ।

हाट बजार हेर्दा वा सरकारी कार्यालयमा जाँदा भने हामीले कोरोना भएको भनेर पत्याउन सक्दैनौं । चिउँडो या कुहिनामा मास्क लगाएर वा मास्कै नलगाएर मानिसहरू सानले हिँडिरहेका हुन्छन् । यो कसलाई देखाउन हो ? आफैँलाई कि निमुखा वा निरीहलाई ? प्रश्न यस्ता उठ्ने गरेका छन् जसको कुनै सजिलो उत्तर छैन वा दिन सकिँदैन ।

यसमा तपाइको मत

अन्य समाचार