काठमाडौं,
कार्तिक १ ।
नेपालीहरूको महान् चाड बडा दशैँ शुरु भएको छ । बडादशैँको पहिलो दिन आज घटस्थापना । विजयादशमीको पहिलो दिन आज सबै नेपालीहरूले आ-आफ्नो घरघरमा जमरा राख्ने गर्दछन् ।
मलमासका कारण कात्तिक महिनामा परे पनि तिथी अनुसार आज आश्विन शुक्लपक्ष प्रतिपदा तिथी हो । आज सबैले आ–आफ्नो घरको पुजा कोठामा विधिपूर्वक घटस्थापना गर्छन ।
त्यस्तै काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि धार्मिक विधिपूर्वक घटस्थापना गरिंदैछ । घटस्थापनाका लागि आज बिहान ११ बजेर ४६ मिनेटको शुभसाइत रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ ।
जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ । घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धी पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट बालुवा या माटो ल्याई जमरा राखिन्छ ।
जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । यसैबीच घटस्थापनाको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीको टीकाको दिन पहेंलो जमरासँगै दूर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ । घटस्थापना गरिएको स्थानमा हरेक दिन अधिष्ठात्री देवी दुर्गाका नौ स्वरुपको पूजा गरिन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दूर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुती पाठ गरिन्छ ।
यस अवसरमा देशभरका शक्तिपीठहरुमा पुजाआजाका लागि भक्तजनहरुको घुँइचो लाग्ने भए पनि यस बर्ष कोरोना संक्रमणको जोखिमका कारण सरकारले सबै मन्दिरहरु भक्तजनहरुका लागि खुला नगर्न सूचना जारी गरिसकेको छ ।






