काठमाडौं,
आश्विन २५ ।
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझ सम्म युएईमा एक जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका विदेशमा विगत नौ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना सङ्क्रमित भएका छन् । ती मध्ये ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् । सङ्क्रमित नेपाली मध्य ८९ प्रतिशत कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
यस्तै नेपालमा मात्र १ लाख ५ हजार ६ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ७४ हजार २ सय ५२ जना कोरोना मुक्त भएका छन । यो कुल सङ्क्रमितको ७० दशमलव ३ प्रतिशत हो । हालसम्म नेपालमा ६ सय १४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
कोरोना महामारी नियन्त्रणको नेतृत्व विज्ञलाई दिन सुझाव
गैरआवासीय नेपाली संघको जारी दोस्रो विज्ञ सम्मेलनमा बोल्ने वक्ताहरुले सरकारले समयमा गम्भिर नहुदाँ कोरोना सङ्क्रमणमा बृद्धि भएको विचार व्यक्त गरेका छन् । सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गर्नुभएको छ । ‘सरकार होपलेस देखियो । पूर्वतयारी र न्यूनीकरणको कामै भएन । सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो,’ गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा डा. तुलाधारले भन्नुभयो ।
शनिबार भएको ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ तुलाधारले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोभिड–१९ का कारण ६ सय जनाको ज्यान गएको र संक्रमितको सङ्ख्या एक लाख नाघेको बताउनुभयो । ‘विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधानमै स्पष्ट छ । जिम्मेवार नेतालाई थाहा छ । तर, हामी इमान्दार छैनौं,’ उहाँले भन्नुभयो । विपद् व्यवस्थापन विज्ञ तुलाधारले एनआरएनएलाई पनि विपद् तथा महामारीसँग जुध्न स्थायी प्रकृतिको संरचना बनाउन आग्रह गर्नुभयो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आइसियु बेड पाउन नसकिने अवस्था आइलागेको बताउनुभयो । उहाँले विपद् तथा महामारीविरुद्ध स्थायी संरचना पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमी रहेको बताउनुभयो । विपदको बेला राजनीतिक नेतृत्वले नियमितभन्दा बाहिरको स्रोत परिचालन गर्नसने भए पनि सरकार यो विषयमा चुकेको थापाले टिप्पणी गर्नुभयो ।
पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको बताउनुभयो ।
एनआरएनए, आईसिसी उपाध्यक्ष डा. बद्री केसीले एनआरएनलेले जहिल्यै पनि सहयोग गर्दै आएको बताउनुभयो । नेपालमा बाढीपहिरो, आगलागी जस्ता विपद्का घटना हुन् वा २०७२ को भूकम्पमा एनआरएनएले प्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै डा. केसीले अहिलेको कोभिड-९ मा पनि उच्चस्तरीय समिति गठन गरेर सङ्क्रमित एवम् उद्धारको दस्ताबेज बनाएर काम भइरहेको बताउनुभयो ।
एनआरएनए, स्वास्थ्य समिति संयोजक डा. सन्जीव सापकोटाले पूर्वतयारीबिना महामारी नियन्त्रणको काम गर्न नसकिने बताउनुभयो । यो सत्रमा गैरआवासिय नेपाली संघका डा. अलिनी सुवेदी, डा. कुस श्रेष्ठ, डा. द्रोण रसाली, डा. हेमराज शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।






