दलहरूमा गुट उपगुटको राजनीति

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
आश्विन २४ ।

केही दिन पहिला आन्तरिक द्वन्द्वको चरम विन्दुमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि (नेकपा) भित्रको द्वन्द्व यतिवेला केही साम्य भए जस्तो देखिएको छ । भागभण्डाको राजनीति मिलाए पछि केही दिन बिवाद साम्य भएको देखिएको हो । पार्टीभित्र विवाद होस् र पार्टी फुटोस् भन्र्ने हाम्रो चाहाना पनि होइन । यो पार्टी बलियो होस् भन्ने हो ।

जुनसुकै पार्टी पनि मजबुत हुन र देश तथा जनतका पक्षमा काम गरून भन्ने हो । पार्टी कार्यकर्ता र समर्थकहरूको शुभेच्छा पनि नेताहरू मिलिदिए हुन्थ्यो, पार्टी नटुक्रिए हुन्थ्यो भन्नेमा नै हुन्छ सधै । राजनीतिक दल र तिनका नेताहरू केका लागि विवाद गर्छन, केका लागि मिल्छन ? धेरैलाई थाहा छैन वा चासो छैन । कम्युनिस्ट पार्टीहरूमा विवाद र फुटको शृङ्खला लामो छ । फुटने, जुटने यिनीहरुको परम्परागत रोग जस्तै नै छ । सत्ता स्वार्थ मिलाउने झगडाले पार्टी सकसमा छ ।

कोभिड-१९ ले आहत बनिरहेको समयमा जनतालाई राहत दिने र भ्रष्टाचारका शृङ्खला रोक्ने विषयमा कसैको चासो छैन । नेताहरू पदिय भागबन्डा र राज्यस्रोत माथिको दोहनमा लागि परेका छन । मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । यो बिषयमा कुनै नेताको ध्यान खिचिएको छैन । सत्तारुढ नेकपाभित्र सचिवालय र स्थायी कमिटीको बैठक भन्दै दिनरात कटिरहेका छन् । छिटोछिटो महाधिवेशनमा गई कार्यकर्ताबाट अनुमोदन भई आउनुपर्नेमा आपसी बलमिच्याइँ, घुक्र्याइँ र छलछामगरी पार्टी चलिरहेको छ ।

लोकतान्त्रिक आन्दोलनको मियो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अहिले इतिहासकै कठिन मोडमा छ । उसका के कुरा गर्नु ? उसले प्रमुख प्रतिपक्षको भूमिकासमेत निर्वाह गर्न सकिरहेको छैन । कांग्रेसको महाधिवेशन आगामी फागुनका लागि तोकिएको छ । पार्टीका नेताहरु महाधिवेशनको उम्मेदवारी घोषणामा व्यस्त हुँदैछन् ।

मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी तेस्रो राष्ट्रिय दलका रूपमा रहेको छ । उसले हतारमा गरेको एकीकरणलाई व्यवस्थित गर्न सकिरहेको छैन । त्यस पार्टीभित्र पनि विवाद छ ।

बिभिन्न राजनीतिक दलहरूमा गुट उपगुटको राजनीति छ । बेला बेलामा बिभिन्न राजनीतिक दलहरुमा गुटको राजनीतिले पार्टी भित्र रडाको मच्याउने गरेको छ । लोकतान्त्रिक दलमा गुटहरू रहनुलाई त्यति अस्वाभाविक मानिँदैन । संस्थापनलाई सैद्धान्तिक विचलन र स्वेच्छाचारिताबाट रोक्न हरेक पार्टीमा वैकल्पिक धारको आवश्यक पनि छ ।

पदहरूको खरिद-बिक्रीले दलहरूमा डन र व्यापारीहरूको प्रवेश र आधिपत्य बढ्दै छ । यसबाट पार्टीहरु बच्नुपर्ने आबश्यकता छ । लोकतान्त्रिक प्रणालीका जीवन आधार दलहरू नै हुन् । यिनको अनुपस्थितिमा लोकतन्त्रले श्वास फेर्दैन । समाजलाई अशिक्षा, अभाव र अन्धविश्वासको भुमरीबाट मुक्त गर्दै मुलुकलाई समृद्ध बनाउने भनेकै राजनीतिक दलहरूले नै हो । राजनीतिक दलहरुले समाजलाई उचित गन्तव्यसहितको नयाँ दिशा दिनुपर्छ । राजनीतिक दलहरु बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार