काठमाडौं,
आश्विन २४ ।
पूर्वअर्थमन्त्री एवम् प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनु भएको छ । गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताउनुभयो । यद्यपि, पछिल्ला दुई वर्ष यता शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन बढे पनि पर्याप्त नरहेको उहाँले बताउनुभयो । पूर्वमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता एवम् पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले विदेशमा रहेका नेपालीको ज्ञानलाई स्वदेशमा प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो । अहिले अर्थतन्त्रका केही इन्डिकेटर राम्रा रहे पनि विपन्न वर्गलाई सरकारले के गर्यो भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘आम्दानी नै नहुने स्थिति छ, रोजगारी खोसिएको छ, अस्पताल गएर उपचार गराउनसक्ने अवस्था छैन, उहाँहरूका लागि सरकारले के गर्यो ? यसबाट कसरी बाहिर निस्कने भनेर चिन्तन र रणनीति खोइ ? जोशीले भन्नुभयो ।
कोभिडसँग लड्न पर्याप्त रकम जम्मा गर्न कांग्रेसले पहिले नै भनेको स्मरण गराउँदै जोशीले भन्नुभयो, ‘राहत प्याकेजका लागि बारम्बार भन्यौं । तर, सुनुवाइ भएन । यो अवस्थामा सडकमा जान पनि मिलेन ।’ अर्थतन्त्र पुनरुत्थानका लागि योजनावद्ध ढंगबाट अघि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो।
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड-१९ का कारण आर्थिक संकट गहिरिँदै गएको बताउनुभयो । अर्थतन्त्र विरामी हुँदा प्रत्येक क्षेत्रलाई छुट्याएर सोही अनुसार उपचार गर्न सरकारले सर्भे गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । ‘देशलाई अझै धनी बनाउनुपर्छ भनेर कोभिड-१९ ले देखायो । धनी देशहरू व्यवसाय र रोजगारी जोगाउन जति पनि खर्च गर्नसक्ने सामर्थमा पुगे,’ उहाँले भन्नुभयो, ‘हाम्रो देशको आर्थिक अवस्था पनि राम्रो भएको भए व्यवसाय र रोजगारी जोगाउन सकिन्थ्यो ।’ अहिलेको संकटको बेला ठूला व्यवसायीले नाफा नकमाउदा पनि खासै समस्या नपर्ने उल्लेख गर्दै उहाँले साना र मझौला उद्योगलाई जोगाउन सरकारले आधा नइ पूरै दिल खोलेर सहयोग गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सिप र भिजनको समुचित प्रयोग गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभयो । समन्वय, सहकार्य गरेर दिगो विकास लक्ष्य प्राप्तिमा लाग्नुपर्ने उल्लेख गर्दै प्राडा कँडेलले कोभिड–१९ ले प्राथकिताका क्षेत्र परिवर्तन गरेको बताउनुभयो । स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा खर्च बढाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै उहाँले लकडाउन कारण प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत अन्य रोजगारीका कारण सञ्चालनमा ढिलाइ भएको बताउनुभयो ।
साइप्रसका पूर्वअर्थमन्त्री डा. मिचेल सारिसले कोभिड–१९ संकटको समयमा स्वास्थ्यका दृष्टिकोणबाट अगाडि बढेका देशले राम्रो काम गरेको बताउनुभएको छ । ‘अहिलेको अवस्थालाई राजनीतिज्ञको नेतृत्वबाट भन्दा चिकित्सा क्षेत्रबाट एकरुपता र पारदर्शी रुपमा काम गर्न सकेको बताउनुभयो । जुन नेतृत्वले स्वास्थ्यको दृष्टिबाट अर्थनीति बनाएका छन् । तिनीहरूले व्यापारमा राम्रो गरेको देखिन्छ,’ उहाँले भन्नुभयो ।
एसियन इन्स्च्यिुट अफ टेक्नोलोजी, स्कुल अफ इन्भारोमेन्ट, रिसोर्स एन्ड डभलपमेन्टका प्राडा सोभाकर ढकालले कोभिड–१९ का कारण दिगो विकास लक्ष्यमा अझ चुनौती थपिएको बताउनुभयो । १७ वटा गोलमध्ये धेरैजसो लक्ष्य पूरा भएको उहाँले बताउनुभयो । एनका अनुसार अनलाइन व्यापार, इ–बैंकिङ क्षेत्रमा अवसर बढ्दै गएको छ ।
अर्थतन्त्रको पुनरुत्थानका लागि तत्कालीन र दीर्घकालीन गरी छुट्टाछुट्टै प्याकेज आवश्यक हुने उहाँले बतानुभयो । कार्यक्रममा पूर्वराजदूत भीम उदास, महिला तथा बालबालिका मन्त्रालयका सचिव यमकुमारी खतिवडा, एकनाथ खतिवडा लगायतले कोभिड-१९ बाट संकटमा परेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम अगाडि चाल्नुपर्नेमा जोड दिनुभयो । लकडाउनका कारण उद्योग, व्यापार क्षेत्र प्रभावित बनेकामा अब डिजिटल व्यापारमा आशा पलाएको उहाँहरूको भनाइ छ । यो सत्रको सहजीकरण अर्थशास्त्री विश्व पौडलले गर्नुभएको थियो ।






