‘नेपालको व्यापार क्षेत्र र कोभिड-१९ को सामना’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं,
आश्विन ११ ।

नेपाल महिला चेम्बरले ‘नेपालको व्यापार क्षेत्र र कोभिड-१९ को सामना’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आईतबार आयोजित उक्त कार्यक्रममा नेपाल महिला चेम्बरकी उपाध्यक्ष अम्बिका शर्माले वक्ताको रुपमा प्रस्तुति दिनुभएको थियो ।

प्रस्तुति दिने क्रममा शर्माले कोभिड-१९ विश्वव्यापी रुपमा फैलिएको हुनाले यसबाट जोगिदै अगाडि बढनुको विकल्प नभएको औल्याउदै नविनतम सोच र आत्मविश्वासका साथ कर्म क्षेत्रमा कृयाशिल हुनुपर्ने बताउनु भएको थियो । कार्यक्रम माझ उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उपाध्यक्ष शर्माले महिला उद्यमशीलतालाई प्रबद्र्धन गर्न आपसी समन्वयको खाँचो टड्कारो रहेको बताउदै हाल महिला चेम्बरले गर्दै आईरहेको अन्तर्कृया कार्यक्रमले समस्याको पहिचान गर्दै निदानका लागि मार्ग प्रशस्त गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममाझ नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्मा उपाध्यक्ष शर्माको व्यक्तित्व बारे प्रकाश पार्ने क्रममा शर्मा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्नुभएको थियो । कार्यक्रममाझ सहजकर्ताको भुमिका निर्वाह गर्दै महिला चेम्बरकी महासचिव लिमा अधिकारीले कोभिड पश्चात महिला व्यवसायीहरूले विभिन्न समस्या झेल्दै आएकाले समस्या समाधानका लागि वेमिनार मार्फत चरणबद्ध रुपमा छलफल कार्यक्रम राखिएको बताउनुभयो ।

सो अवसरमा महिला चेम्बरकी सदस्य चारु सिकरियाले सहभागिताका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै कोभिड–१९ पश्चात व्यापारको क्षेत्रमा देखिएको समस्यालाई सामुहिक पहलमा हल गर्न सकिने आधार अन्तर्कृयाले दिएको धारणा राख्नुभयो । नेपाल महिला चेम्बर सम्बद्ध करिब ४० जना महिला उद्यमी व्यवसायीहरू सहभागी रहेको सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, इजरायलका लागि नेपालकी राजदुत डा. अन्जन शाक्य, सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, नेपाल चेम्बरका महानिर्देशक कैलाश कुमार वजिमय, उपनिर्देशक सृष्टि त्रिपाठीको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अन्त्यमा जिज्ञासाको जवाफदिने क्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमी व्यवसायीहरु कोभिडबाट सिर्जित प्रतिकुल अवस्थामा हतोत्साही नहुन भन्ने अभिप्रायले महिला चेम्बरले नियमित रुपमा परामर्शमुलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार