✍️ पेशल आचार्य, काठमाडौं
भाद्र २७ ।
समय रेखामा को टिक्छ
समय रेखामा को बिक्छ
केही थाहा नहुने भयो
रामलाई विवादमा तान्नेहरूले
के जाने भोलि शिवलाई
र पर्सि विष्णुलाई नि
विवादमा तान्न सक्छन्,
समय नित्य नवीन भएर बगिरहन्छ
यो नीरव शान्ति प्रष्फुटित गर्ने सरिता हो
कावा खाइरहेका चरीपंक्षीहरू
चारु चबाइरहेका जनावरहरू
पानी पिइरहेका मृग शावकहरू
सबै सबै समयका कारक हुन्
सबै सबै समयका विभक्ति हुन्।
समयलाई अभिनन्दन गर्नुभन्दा महान् कार्य
यो धरणीमा अर्को छैन
समय सधैँ एकैनाश भएर पनि
एउटै थिएन
एउटै छैन
एउटै हुने छैन,
नित्य नवीन प्रवाहमय वेगमा
बगिरहेको छ समय,
मानिसले समयको महत्व बुझ्छ
मानिसले नै समयको अवमूल्यन गर्ने गर्छ
जसले अवमूल्यन गर्छ
समय ऊसँग असाध्य बेखुसी हुने गर्छ,
संस्कृति बनाउन पाँच सय वर्ष लाग्छ
तर भत्काउन पाँच हजार वर्ष लाग्न सक्छ
ज्ञानीहरू यसै भन्छन् ।।






