काठमाडौं,
भाद्र २६ ।
गएको असाढ १० गते शुरु भएको सतारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार सम्पन्न भएको छ । स्थायी कमिटी बैठकले अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । नेकपाको शुक्रबार बैठक उत्साहपूर्ण रुपमा सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा पार्टी प्रचार विभागका उपप्रमुख सुर्य थापाले बताउनुभएको छ ।
शुक्रबार सम्पन्न बैठकले अध्यक्षद्वयले पेस गरेको १५ बुँदे प्रस्ताव सर्वसम्मत पारित गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पारित प्रतिवेदनमा पार्टी भित्रको विवाद समाधान गर्न भन्दै दुई अध्यक्षको भूमिका परिभाषित गरिएको छ । अध्यक्ष ओलीले पाँच वर्ष प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्दै त्यसैमा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा पार्टी प्रति केन्द्रित हुने नेकपाले निर्णय गरेको छ । अब प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष बन्नुभएको छ ।
यस्तै नेकपाको पहिलो महाधिवेशन आगामी चैत २५ देखि ३० सम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ । र, त्यसको कार्ययोजना बनाउन आगामी कार्तिक १५ गते केन्द्रीय कमिटी बैठक बस्ने र मंसिरमा सङ्गठित सदस्यता वितरण तथा नविकरण गर्ने निर्णय गरिएको छ ।






