लघु कथाः बनको आगो

✍️ हेमराज अधिकारी

जङ्गलमा भीषण आगो लागेको थियो । हजारौं जिव-जन्तु आगोको चपेटामा परेर ज्यान गुमाएका थिए । बाघ, भालु, हात्ती, घोडा, गैंडा, चितुवा कोही बाँचेन । खडेरी परेर जिव-जन्तु बाँच्ने कतै उपाय थिएन । जमिन मुनि लुकेर बसेका मुसो, भ्यागुतो, सर्प, दुम्सीलगायत आगो निभ्योकी भन्दै बाहिर हेर्दै लुक्दैगर्थे । बनको राजा सिंहलगायत सबै मरिसकेका थिए । स-साना जीवाणुको जीबनलाई मुल्याङ्कन नगर्ने अभिमानी ठूला जनावर सबै मारिए । अन्त्यमा, माटा भित्र बस्ने दुइचार जिव-जन्तु मात्र बाँचे । आगो सकियो । पानी पर्‍यो । दुला–दुलि भित्र बस्ने कमिला, मुसा, सर्प, भ्यागुता दुम्सी बाहिर निस्के ।

अब बनको राजा कसलाई बनाइने भन्ने बिषयमा विवाद बडन थाल्यो । एन्टिना निस्केको कमिलो बुरुक्क उफ्र्दै आफैँ राजा हुने भयो । दुम्सीलाई राजा नबनाए काँडा फ्याँक्ने धम्की दिनथाल्यो । सर्पले म नाग राजा हो मै राजा हुनुपर्ने ठोकुवा दिन थाल्यो । मुसाले गणेशजिको स्वरुप हुँ मान्छेले धरी हाम्रो प्रजातीलाई मानेको हो भन्दै उफ्रिन थाल्यो । सबै राजा हुने सपनाले आकाश ताक्न थाले । उम्रदैका दुइ पाते गनौला धरी बुरुक्क-बुरुक्क उफ्रन थाले । राजाको सिंहासन छेउमा पुगेर उत्पात झगडा हुन थाल्यो । छिचिमिरा, चमेरा, उपिया–उडुस सबै मुर्मुरिन थाले । राजा भएर मुलुकको लागी के गर्ने कसैको कुरै छैन खाली सिंहासनमा मात्र आँखा गाडेर झगडा मच्चिन थाल्यो ।

यतिकैमा अचानक सिंहासन हल्लाउँदै सिंहासन मुनि जमिनको गुफाबाट ठुलो हुँङकार गर्दै बन राजा सिंह निस्क्यो । ‘खबरदार-खबरदार !’ ‘मैले यस्तै भवितव्य पर्छ भनेर जहाँ मेरो गुफा थियो त्यहीँ सिंहासन बनाएको थिँए । यस्तो महामारी हुँदासमेत तिमीहरु दुष्ट जनावर चौकीकै लडाइँ गर्छौ ? लाज शरम पचेका लबस्तरा किराहरू ? जाउ सबै बनमा । आफ्नो साखा-सन्तान कति मरे कति बाँचे ? सबै दुलो भित्र पस ? यो आगोको महामारी हो । पृथ्वीमा महामारी हुँदा जताततै कुद्ने मान्छेहरु भकाभक मरेको देखेनौ ? जो दुलो भित्र बस्छ त्यो बाँच्नु सक्छ, छाडाहरू ।’

बुढी कमिलो, चर्के कमिलो आफ्नो एन्टिना घुमाउदै कता भागे कता । सातो उडेको मुसो कुन दुलोमा पस्यो कसैलाई थाहा भएन । सबै ‘सिंह राजा जिन्दावाद’ भन्दै दुला-दुलि भित्र पसे । मौकामा चौका हान्ने जिव-जन्तुलाई राजा सिंहले राम्रो सबक दिए ।

यसमा तपाइको मत

अन्य समाचार