रञ्जनको लघुकथासङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक

काठमाडौं,
भाद्र १३ ।

कवि तथा कथाकार रञ्जन घिमिरेको नवीनतम् लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । आफ्नी ममतामयी आमाको ८० औँ जन्मदिनका अवसरमा स्रष्टा घिमिरेले उपहारस्वरुप आमालाई ‘सम्मोहन’ नामक लघुकथासङ्ग्रह अर्पण गर्नुभएको हो । आफ्नो जन्मदिनमा स्रष्टा घिमिरेकी आमाले छोरो रञ्जनको कृतिका रूपमा तेस्रो र पहिलो लघुकथासङ्ग्रह ‘सम्मोहन’ विमोचन गर्नुका साथै सिर्जनायात्रा निरन्तर अगाडि बढ्न छोरोलाई आशीर्वादसमेत दिनुभयो ।

वि.सं. २०४३ साल असोज ७ गते गोरखा जिल्लाको मकैसिङमा जन्मिनुका रञ्जनका यसअघि ‘मूच्र्छित स्वरहरू’ (कवितासङ्ग्रह, २०७१), ‘घिमिरे वंशावली’ (अनुसन्धानमूलक कृति, २०७७) र ‘समाजसेवी होमनाथ घिमिरे’ (२०७६) नामक संस्मरणात्मक ग्रन्थ (सम्पादन) प्रकाशित भइसकेका छन् । ‘सम्मोहन’भित्र समसामियक विषयवस्तुमा लेखिएका ३७ ओटा लघुकथाहरू समाविष्ट छन् ।

लघकथाकृतिबारे नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती भन्नुहुन्छ- ‘समसामयिक जीवनमा देखापरेका अनेकौँ विकृति, जीवन–मूल्यको गिर्दो अवस्था, उपभोक्ता संस्कृतिले जन्माएका अमानवीय तथा सामाजिक संवेदनाहीन प्रवृत्ति र त्यस्ता प्रवृत्तिले अस्तव्यस्त पारेको वर्तमान समयका पलपलका घटनाहरूलाई मूल विषयवस्तु बनाएर लघुकथाकार रञ्जन घिमिरेले लघुकथा लेख्नुभएको छ । विषयवस्तुको सङ्क्षिप्तता, आकारको लघुता तथा भाषिक सरलताले लघुकथालाई प्रभावकारी बनाउने कुरा कथाकार घिमिरेले राम्ररी बुझनुभएको छ र यसैकारण उहाँका यस सङ्ग्रहमा परेका लघुकथाहरू प्रभावकारी भएका छन् ।’

यसैगरी साहित्यकार गोपाल अश्क समसामयिक विषयवस्तुलाई आधार बनाएर घिमिरेले सिर्जना गरेका सबै लघकथा पठनीय, सम्प्रेषणीय र चोटिला भएको दाबी गर्नुहुन्छ । समालोचक डा. हरिप्रसाद सिलवालको विचारमा कृतिकार आफ्नो कृतिमा जीवनका अमिला–तिता पक्षलाई सिन्कीझैँ खाँद्न र वर्तमान समाजलाई सही दिशानिर्देशन गर्न सफल बन्नुभएको छ ।

कृतिकार घिमिरेले लघुकथाकृति ‘सम्मोहन’भित्र आफूले पचासको अन्त्यदेखि हालसम्म सिर्जना गरेका ३७ ओटा लघुकथाहरू सङ्ग्रहित गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९)ले समाजलाई नै होल्ड गराइरहेका बेला स्रष्टाहरू निराशा भएर बसिरहेका छैनन् है भन्ने सन्देश दिनका लागि पनि मैले लकडाउनकै समयमा यो कृति तयार पारी सार्वजनिक गरेको हुँ ।’

यसमा तपाइको मत

अन्य समाचार