✍️ पेशल आचार्य
समाजवाद समाजवाद भन्दै
कहिले गरिबका झुप्राहरूलाई
गोठभन्दै आगो लगाएको
कहिले बाढी पहिरो पीडितलाई
राहतका निहूँमा
बँचे खुँचेको उनीहरूकै
धानबाली सखाप पारेर
अन्टसन्ट भाषण गरेको,
प्रजातन्त्र प्रजातन्त्र भन्दै
कहिले असहाय र निम्सराका पक्षमा
बोल्नेको जीब्रै थुतेको
कहिले छेउ लागेको र वाणी नभएकाका हितमा
छेउकुना छुनेगरी लेख्दा
असह्य भएर शासकका रबाफले
लेख्ने कलम नै भाँची दिएको,
रुँदैरुँदै न्यायलय पुग्दा पनि
न्याय नपाएको
न्यायमूर्तिहरू पार्टीका कार्यकर्ता भएका
विद्यालय र महाविद्यालयहरूमा
हनुमानै हनुमानहरूलाई
सहर्ष फूलका बगैँचा फाँड्ने जिम्मा दिइएको
राजनीतिलाई लाजनीति
र समाजसेवालाई
स्वमेवा बनाएको,
किसान, श्रमिक र मजदुरको हित गर्छौं भनी
आएको जनमुखी र क्रान्तिकारी सरकारले
कुलीनमुखी र भ्रान्तिकारी कार्यक्रमहरू
निर्लज्ज भएर गरे/गराएको
उल्टै किसान, श्रमिक, मजदुर
र न्यून बेतनभोगी कर्मचारीमारा नीति लिएको देख्दा
कहिले त
आफैँले आफ्ना आँखा फोडिदिऊँ जस्तो लाग्ने
आफैँले आफ्ना कान टालिदिऊँ जस्तो लाग्ने
आफैँले आफ्नो जीब्रो थुतिदिऊँ जस्तो लाग्ने
आफैँले आफ्नो चेतनाको दीयो निभाइदिऊँ जस्तो लाग्ने
धर्मगुरु
शिक्षागुरु
कलागुरु
दर्शनगुरु
र कूलगुरु
जोजो छन् श्वेत र पीत वश्त्रधारीहरू
यो म बाँचेको पाखण्डी समाजमा
तत्तत्हरूको
नीति र नियतमै बबाल खोट देखिएपछि
लाग्ने समाजका हरेक क्षेत्र
अब बिक्न बाँकी केही छैनन्,
यहाँ मात्र आमाको ममता र
बाबुको छहारी बिकेको छैन
त्यसैमा म मख्ख छु
यहाँ म भनेको
शक्तिविहीन
क्लान्त
र निरीह नेपाली हूँ महाशय !
– – –






