थप ७ सय ७ जनामा कोरोना सङ्क्रमण

काठमाडौं,
भाद्र ४ ।

थप ७ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबारको नियमित मिडिया ब्रिफिङमा स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालाबाट थप ७ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । जसमा एक सय ९२ महिला र पाँच सय १५ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पुग्यो २९ हजार ६ सय ४५ पुगेको छ ।

बिहीबार देशभरका विभिन्न अस्पतालबाट २ सय ६४ जना कोरोना सङ्क्रमण निको भएर घर फर्किएका भएका छन् । योसँगै कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको सङ्ख्या १७ हजार ९ सय ६४ जना भएको छ । बिहीबारसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ५ सय ५५ रहेको छ । देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको डा. गौतमले जानकारी दिनुभयो ।

बिहीबार काठमाडौं उपत्यकामा दुईसय सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा आठ सङ्क्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ६ सय ९९ पुगेको छ । हालसम्म काठमाडौंमा २ हजार १ सय ५२, ललितपुरको ३ सय ६८ र भक्तपुरमा १ सय ७९ सङ्क्रमित पुगेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहनुभएको छ । उहाँका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साका एक महिला र दुई पुरुषको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । यसअघि बुधबार पनि ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार