सम्झना ति दिनको : ‘अल्लारे बहर’

  • लेखनाथ पोख्रेल

लामीडाँडा जाने बाटोको मुन्तिरपट्टी एउटा ठूलो बारीको पाटो हुनेगथ्र्यो । कुनै समय त्यो बारीमा धनेघर्तीको बसोबास भएको कारण, त्यो बारीको नाम रहन गयो ‘धनेको पाटो’ । मकै छर्ने बेलाको बारी जोत्ने काम सने घर्तीको जिम्मामा थियो । त्यो दिन हाम्रो घरमा पूजा हुने भएकाले, आमाले सने घर्तीलाइ बासीभात र मोही खुवाएर बिहानै जोत्न पठाउँदै हुनुहुन्थ्यो । सने घर्तीलाइ के कुरामा चित्त नबुझेर हो भुत्भुताउदै थियो । बासीभात खाएर भुत्भुताउँदै आँगनमा पुगेको सनेलाइ आमाले बोलाएर सम्झाउनु भएको थियो- ‘घरमा पूजा छ । खाना अलि ढिलो हुन्छ । खाना ढिलो भयो भनेर रिसाएर गोरु चुट्लास नि ! ती त जोत्ने गोरु मात्र होइनन बाबै, हामीलाई पालपोस गर्ने हाम्रा छोरा हुन !’ बासीभात खाँदै गर्दा त्यति कुरा सुनेको सनेले हलगोरुको काँधमा जुवा ना¥यो र आफ्नो काँधमा हलो बोकेर धनेको पाटातर्फ लाग्यो । त्यो बेला मलाई, आमाले सने घर्तीलाई किन त्यति धेरैकुरा भन्नु भएको होला भन्ने लागेको थियो ।

म चौध महिनाको पनि नहुँदै बहिनी जन्मीइसकेकी थिइ । आमाको दुध छोडेर बाबुको घुँडो चुस्न पुगेसँगै म तारीगाईको अबैध सन्तान बन्न पुगें । तारीगाई र मेरो सम्बन्ध आमा छोराको बन्नपुग्यो । अचम्मकी थिई तारीगाई । चार पाँच बर्षको हुँदा पनि राति म दुध खानलाई जब जब रुनथाल्थें, बाले एक हातले मलाई च्याप्नु हुन्थ्यो अर्को हातमा पानीको औखोरा हुन्थ्यो । मतानमा बाँधेको तारीगाईको छेउमा पुगेर भन्नुहुन्थ्यो ‘तारी तेरो छोरो आयो दुध दे’ । अचम्म थियो ! मलाई देख्ने बित्तिकै तारीगाई जुरुक्कै उठ्थी । बाले उसको फाँचो धोईदिनुहुन्थ्यो र गाईको थुन मेरो मुखमा लगाई दिनुहुन्थ्यो । मैले दुध चुसुन्जेल तारीगाई चुपचाप उभिई रहन्थी । मैले अघाएर उसको थुन छोडेपछि ‘बाँ..’ गर्थी अनिमात्र बस्थी । जङ्गल चर्नगएकी तारीगाई दिउँसो पनि एकपटक ‘बाँ..’ गर्दै घरमा आउँथी र मलाई दुध खुवाएर चर्न जान्थी । म तारीगाईको दुध र काली भैंसीको घ्यू खाएर नै हुर्किएको थिएँ ।

बर्ष दिनको फरकमा तारीगाईले दुइटा बाच्छा जन्माएकी थिई । मैले उनीहरुकी आमाको दूध चुस्दै गरेको बेलादेखिनै ती दुइटा बाच्छा मेरा साथी बनेका थिए । अलि ठुलो भएपछि तारीगाईका दुवै बाच्छा मलाई देख्ने बित्तिकै ठाडो पुच्छर लाएर उफ्रिदै मसँग खेल्न मेरो छेउमा आइपुग्थे । सुम्सुम्याउदै लगेर दुवैलाई दाम्लोमा नबाँधेसम्म म स्कुल जान पाउदिन थिएँ । दाम्लोमा बाँधेर डोरीमा घाँस झुन्ड्याइदिए पछि मात्र मैले फुर्सद पाउँथें । डोरीमा घाँस झुन्ड्याएर मैले आफ्नो झोला भिर्दैगर्दा दुबैले एकै स्वरमा ‘बाँ..’ गरेर मलाई बिदा गर्थे । स्कुलबाट फर्केर घरपुग्दा पनि उनीहरुको मुखबाट एकपटक फेरि ‘बाँ..’ शब्द निस्किनेगथ्र्यो । समय बित्दै गयो । बित्दो समयसँगै हामी पनि हुर्किंदै गयौं । बाच्छा बहर बने । म जवान हुदै गएँ । बाच्छाबाट अल्लारे बहर बनेका उनीहरु बारीको डिलसँग सिंगौरी खेल्न सुरुगरेसँगै सने घर्तीले उनीहरुको काँधमा जुवा बाँध्यो । स्कुलको क्लास चढ्न थालेसँगै हुर्किंदै गएको मेरो काँधमा स्कुलब्यागको भारी थपिदै गयो ।

सनेघर्तीले नै हुर्काएको थियो ती बाच्छालाई । सानो छउन्जेल उसैले खुवाउने गरेकोले हुर्केर बहर भएपछि, दाउनकोलागि पहिलोपटक उनीहरुको काँधमा सनेघर्तीले जुवाराख्दा नाइनुकुर गरेका थिएनन् । यति बलिया थिए कि, सने बाहेक अरु जो कोहीले तिनीहरुको काँधमा जुवा राख्ने आँट गर्न सक्दैनथ्यो । हलो जोत्दा उसले ती दुवै बहरलाई चुक्चुक्याएर जोत्ने गरेको देखेको थिएँ मैले । जोत्न सुरु गरेको केही समयपछि भने कहिलेकाहीँ यिनीहरुको ग्रह मिल्न छाडेकोझैं लाग्थ्यो । बारी जोत्ने बेलामा काँधमा जुवा राख्नखोज्दा कहिलेकाहीँ दुवै बहरले सनेलाई फाँ..फाँ..र फुँ ..फुँ…गर्ने गर्थे । सधै मलाई चाट्न आउने ती बहरले सनेलाई किन त्यस्तो गर्छन भन्ने कुराको मेसो मैले पाएको थिइन ।

त्यो दिनको पूजा सकिनु अगाडि आमाले मलाई बोलाएर ‘जा बाबु ! सने भोकायो होला । भनेको बेला खान पाएन भने त्यसले अप्ठेरोमा हलो अड्काएर गोरु चुट्न थाल्छ । उसलाई खानेकुरा पु¥याई दे’ भन्दै, टालोमा बाँधेको खाना र एक लोहोटा पानी दिनुभयो । छोटो भोटोसँग लामो लङ्गौटी लगाउने सनेघर्तीले मलाई औधी माया गर्ने भएकाले, आमाले दिनुभएको पोको र लोहोटाको पानी बोकेर म खुरुक्क धनेको पाटातिर लागेको थिएँ ।

जोत्दै गरेको बारीभन्दा दुई कान्लामाथि पुगेर हेर्दा जोत्दै गरेको सनेको हलो ढुङ्गामुनि अड्किएको देखिन्थ्यो । त्यो हलो आफैं अड्किएको थियो कि उसले अड्काएको थियो ? त्यो कुरा मैले थाहा पाइन । अप्ठेरोमा अड्किएको हलो तान्ननसकेका अल्लारे बहरलाई भोकाएको सनेले बेस्सरी चुट्दै थियो । गोरुलाई चुट्दै गरेको लट्ठीको आवाज म उभिएको ठाउँसम्म नै सुनिन्थ्यो । दुवै गोरुको मुखबाट ग्वाँ..ग्वाँ..को आबाज निस्किराखेको थियो ।

त्यस अगाडि ती बहरले चुटाई खाएको कहिल्यै नदेखेको मलाई त्यो दृश्य देख्दा रुनमन लाग्यो । ‘ए सने ! ती गोरुलाई नकुट’ भन्दै माथि बाटै कराएँ । रिसले चुरभएको सनेको काँनसम्म मेरो आवाज पुगेझैं लागेन । त्यो दृश्य देखेर आत्तिएको म, हतारमा ओरालो झर्दै गर्दा हातमा बोकेको लोहोटाको पानी भुइँमा खसेर पोखियो । टालोमा बाँधेको खानेकुरा फ्याँकीदिउँझैँ लाग्यो । म बेस्सरी कुद्दै तल पुगें । म त्यहाँ पुग्दासम्म चुटाइ खाएर बिच्किएका गोरुले हलो र हली दुबैलाई घिस्स्याएर बारीको पल्लो छेउमा पुर्‍याइसकेका थिए । जुवाबाट हलो फुत्किएसँगै, अनौ समातेको सने घर्तीले हलो अचेत्न सकेन । जोत्दै गरेको बारीको डल्लामा पछारिन पुगेको सने घर्ति घोप्टो परेर लड्यो । जुवाले काँध बाँधिएका दुवै गोरु हाम्फाल्दै मलाग्रीको खोल्सातिर दौडिए ।

धुलो टकटक्याउँदै उठेको सने घर्ति गोरुको पछि पछि दौडियो । उसको पछि म दौडिएँ । हामी खोल्सामा पुग्दासम्म दुवै बहर पानी पिएर केही शान्त भइसकेका थिए । रिसाएका गोरुले हान्लान भन्ने डरले सने घर्ती खोल्साको डिलमाथि उक्लिएर बसेको थियो । घाँसको दुइटा डालो भाँचेर उनीहरुको छेउमा पुगेको मलाई देखेर दुवै गोरु मतिर आए । उनीहरुलाई लिएर म घर फर्किए । सने घर्ती मेरो पछि पछि आयो ।

यसमा तपाइको मत

अन्य समाचार