बुधबार मध्यरातदेखि लागू हुनेगरी भदौ १० सम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी

काठमाडौं,
भदौ २ ।

उपत्यकमा दिनहुँ कोरोना भाइरस (कोभिड-१९)का सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि भोलि मध्यरातदेखि लागू हुनेगरी भदौ १० सम्म काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भोलि मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

राजधानीमा मानिसहरुको आवतजावत र भीडभाडका कारण सङ्क्रमण बढिरहेको भन्दै काठमाडौं, ललितपुर र भक्तपुरका जिल्लाका सुरक्षा अधिकारीको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले सो निर्णय गरेको एक सुरक्षा अधिकारीले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी श्याम ज्ञावालीका अनुसार निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवालाई भने खुला गरिएको छ । कुनै पनि सवारी साधान सञ्चालन गर्न पाइने छैन।

सर्वसाधारणको आवतजावतलाई पनि एक ठाउँबाट अर्को स्थनामा जान रोक लगाइएको छ । सरकारले प्रमुख जिल्ला अधिकारीलाई जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने गरी अधिकार प्रदान गरेपछि मंगलबार साँझ सो निर्णय भएको हो।

आजमात्रै उपत्यकामा २ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २५ सय हाराहारी पुगिसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार