काठमाडौं,
भाद्र १ ।
सोमबार देशभर कोरोना भाइरस (कोभिड-१९)का ५ सय ८१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ५ सय ८१ सङ्क्रमित थपिएका जानकारी दिनुभएको हो । जसमा १ सय ७३ महिला र ४ सय ८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १ सय ६० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ४ सय ९५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार आइतबारसम्म देशभर सक्रिय सङ्क्रमितको संख्या १० हजार ६ सय ३९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म जम्मा ५ लाख २९ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ७ हजार ३८ र २ हजार ६ सय १ जना होम आइसोलेसनमा रहेका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । यस्तै सोमबारसम्म देशभर १५ हजार १ सय ९८ जना क्वारेन्टिनमा रहेका छन् ।
पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लााहरुमा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् भने सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना सङ्क्रमण शून्य रहेको छ । यस्तै सोमबारसम्म ६ जना कोरोना सङ्क्रमित भेन्टिलेटरमा छन् । उनीहरु सबै वागमती प्रदेशका रहेका छन् । सोमबारसम्म देशभर कोरोना सङ्क्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
आइतबार काठमाडौं उपत्यकामा १ सय ७२ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने सोमबार १ सय ६८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । देशभर ५ सय ८१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रवक्ता डा. गौतमका अनुसार सोमबार काठमाडौंमा १ सय ३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना कोरोना सङ्क्रमित देखिएका छन् । योसहित काठमाडौं उपत्यकामा कूल सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ३५ पुगेको छ । काठमाडौंमा १ हजार ७ सय ६ ललितपुरमा २ सय ८३ र भक्तपुरमा १ सय ४६ सङ्क्रमित पुष्टि भएका छन् ।
यस्तै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ७ पुगेको छ । सोमबार थप तीन जनाको मृत्यु भएको पृष्टि भएसँगै नेपालमा कोरोनाको सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या १ सय ७ पुगेको हो । प्रवक्ता डा. गौतमका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक-एक जना रहेका छन् । मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहनुभएको छ ।






